क्यान्सरले पत्नी खोस्यो, पुलले रोजीरोटी


भैरहवा– रुपन्देहीको कोटहीमाई गाउँपालिका–१, सिपवाका ४७ वर्षीय धनई मल्लाहको जीवनमा पीडाका पहाड छन् । यो जुनीमा खुसी प्राप्त गर्ने सोचेका पनि छैनन् । न त उनलाई कसैले खुसी प्रदान गर्ने अवस्था नै छ । उनले जानेको डुंगा खियाउन हो । हुन पनि जान्ने भएदेखि डुंगा चलाएरै गुजारा गरिरहेका छन् । आफ्ना पुर्खाको पेशालाई निरन्तरता दिने क्रममा माझी बने । अहिले उनको जिन्दगी तिनाउ र दानव नदीको दुई मुहानमा डुंगा पार गर्ने यात्रुको प्रतीक्षामा बितिरहेको छ ।
यसरी दुई मुहानमा डुंगा चलाउन थालेको ४० वर्ष पुग्यो । पहिले त डुंगा चलाएर गुजारा गरिरहेका थिए । अहिले फेरि आपत परेको छ । उनलाई अहिले पेशा लोप हुने चिन्ता छ । ‘म नजन्मिंदैबाट मेरो बुवा, हजुरबुवाले डुंगामा मान्छे ओसार्थे,’ उनले भने, ‘४ वटा डुंगा फेरिसक्यौं, मैले पनि डुंगा खियाएरै जीवन काटिसके ।’ अहिले उनले खोला तार्ने दुई मुहानमा पक्की पुल निर्माण भइरहेको छ । त्यहाँबाट एक किलोमिटर दक्षिणमा पक्की पुल सञ्चालनमा छ । एक किलोमिटर उत्तरमा झुलेङ्गे पुल छ ।
त्यसैले उनलाई पेशा संकटमा पर्ने चिन्ताले सताएको छ । कहिलेकाही माछा मार्ने जलारी बाहेक कोही पनि डुंगाबाट खोला तर्न आउँदैनन् । तिनाउ र दानवको मिलन भएकाले उक्त घाटलाई दुई मुहान भनिएको हो । खोला गहिरो छ । अहिले दुई मुहानमै पक्की पुल निर्माणाधीन छ । जसले गर्दा अर्को वर्षबाट डुंगा खियाउने काम नै ठप्प हुने पिर व्यक्त गरे । अहिले दिनभर मानिस कुरेर बस्छन् । आजकाल दैनिक डेढ सय रुपैयाँ कमाउन हम्मे हुने गरेको छ ।
पहिले खोला तर्न पुल निर्माण भएका थिएनन् । त्यसैले सर्वसाधरणको ओहोरदोहोरको माध्याम डुंगा थिए । त्यसबेला दिनमा १ हजार रुपैयाँसम्म कमाई भएको मल्लाहले बताए । उनीहरुको खेतीपाती छैन । कमाईको विकल्प पनि छैन । पाँच वर्ष अघि क्यान्सर रोगबाट श्रीमतीको मृत्यु भयो । ऋण र चन्दा बटुलेर चितवनको भरतपुर क्यान्सर अस्पतालसम्म पुर्याए । पत्नीको मृत्युपछि घर व्यवहारको जिम्मेवारी एक्लै उनको काँधमा छ ।
८ कक्षा र १ कक्षामा पढ्ने छोरालाई घरमै छोडेर बिहान ६ बजे खोलामा पुग्छन् । न उनको खानको ठेगाान छ, न त आरामको । डुंगामा चढेवापत प्रतिव्यक्ति २०, मोटरसाइकलको ३० रुपैयाँ लिने गरेका छन् । डुंगा खियाएर कमाएको पैसा मध्ये २ लाख रुपैयाँ बढी श्रीमतीको उपचारमा खर्च भयो । अहिले पनि छिमेकीलाई तिर्नुपर्ने ऋण बाँकी छ । ‘अर्को वर्षदेखि के गरेर बाँच्ने होला,’ उनले भने, ‘अन्य काम गरेकै छैन, मजदुरी गर्न टाढा जानुपर्छ, छोरा र बुढा बाउलाई छोडेर कता जानु, कस्तो काम गरम्ला ।’








प्रतिकृया दिनुहोस्