October 15, 2024, Tuesday
२०८१ आश्विन २९

साउनको आज अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

भैरहवा– साउन महिनाको अन्तिम सोमबार आज शिवालयहरुमा भक्तजनहरुको भीडभाड छ । सौरमास अनुसार आज साउनको अन्तिम सोमबार हो । देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।

Advertisement

वर्तालुहरु बिहान सबेरदेखि नै शिवालयमा पुजाआजाका लागि पुगेका छन् । रुपन्देहीसहित लुम्बिनी प्रदेशका शिवालयमा भक्ताजनको बाक्लो उपस्थिति छ । भैरहवाको शिव मन्दिर, बुटवलको सिद्धबाबा, पर्रोहाधाम, दाङ, नेपालगंज, बर्दिया, कपिलवस्तु लगायतका जिल्लामा रहेका शिवालयमा सबैभन्दा बढी भक्तजनको घुइँचो छ ।

साउनका प्रत्येक सोमबार शिवालयमा भीड लाग्ने गरे पनि आज अन्तिम सोमबार बिहानैदेखि नै भक्तजन शिव मन्दिरमा पुजा गर्न र दर्शन गर्न पुगिरहेका छन् । आज साँझैसम्म मन्दिरहरुमा भक्तजनको भीड हुने गर्छ । सबैजसो शिवालयमा भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

उच्च स्वरमा बोलबम शब्द गुञ्जायमान गराउँदै भक्तजन पर्रोहाको बोलबमधाम पुगेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोल बम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ ।

साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज लुम्बिनी प्रदेशसहित देशभरमा रहेका शिवालयमा पनि भक्तजनको घुइँचो लागेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले वर्तालु धेरै बसेका कारण शिवालयमा बढी भीड देखिएको छ ।