May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

भैरहवा– नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेपाली काँग्रेसले एमालेका आचार्यलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन सोमबार प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए । मुख्यमन्त्रीमा दावी पेस भएको एक घण्टामा प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको विज्ञप्ती मार्फत् जानकारी दिएकी छन् । ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आचार्यले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । लगत्तै उनी मुख्यमन्त्री नियुक्त भए ।

एमालेका २९ र काँग्रेसका २७ प्रदेशसभा सदस्यको हस्ताक्षर छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रुपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । यहाँ एमाले–काँग्रेसको सहजै बहुमत पुग्छ ।

लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ । कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि बहुमत पर्याप्त भए पनि नयाँ सत्ता समिकरणमा नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रिक समाजबादी पार्टीका ३ जना र जनता समाजबादी पार्टीका ३ जना गरी थप १० जना सांसद छन् । तर, मुख्यमन्त्रीमा दावी पेस गर्दा यी दलका सांसदले भने हस्ताक्षर गरेका थिएनन् ।

प्रदेशमा तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्र यस पटक प्रतिपक्षीको भूमिकामा रहने छ । माओवादी केन्द्रसंग ७ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरी सभामुख बाहेक १० जना सांसद छन् । राष्टिय प्रजातन्त्र पार्टीका ४ जना, राष्ट्रिय जनमोर्चाकाका १ तथा एकीकृत समाजबादी पार्टीका १ जना र स्वतन्त्र १ जना सांसद पनि लुम्विनी प्रदेशमा प्रतिपक्षी सांसदको रुपमा रहने छन् ।