June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

भानुभक्तः जसले साहित्यमार्फत् राष्ट्रिय एकता, पहिचान र सांस्कृतिक चेतना जगाए

Advertisement

भैरहवा– भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो

Advertisement

मेरा इनार न त सत्तल पाटी नै छन्
जे धन चीजहरु छन् घर भित्र नै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु नराखी कीर्ति

यी पंक्ति नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यका हुन् । आज भानुभक्तको २११औं जन्म जयन्ती । देशभर आज भानुको सम्झना गरिएको छ । खासगरी आज साहित्यिक संस्थाहरु भानु जयन्तीलाई विशेष समारोह गरी मनाएका छन् ।

भानुभक्तले लोकको भावना र मर्मलाई अभिव्यक्त गरेका छन् । भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला संस्कृत भाषामा साहित्यको रचना हुनेगर्दथ्योे । उनले नेपालीमा लेखे । सामान्य लोकले समेत उनलाई बुझे । उनी लोकप्रिय बने । त्यसैले पनि भानु अझै सबैको मनमनमा छन् ।

यस वर्ष भानु जयन्तीको अवसरमा नेपाल र नेपाली भाषालाई माया गर्ने विभिन्न संघसंस्थाले भानु जयन्ती मनाउँदै छन् । वि.सं. १८७१ मा तनँहु जिल्लाको चुँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको हो ।

ब्राह्मण परिवारमा जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालनपालन धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । भानुभक्तले उतिबेला रामायणलाई संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए । अचम्मको कुरा त के छ भने अनुवाद भए तापनि यसमा मौलिकता र नेपालीपन पनि छ ।

अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत् सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा ल्याइदिएका हुन् । यी नै उनका विशेषता हुन् । भानुभक्तले आफ्नो समाज र परिवेशबाटै सिकेका हुन् । तसर्थ यिनका रचनामा समाज र व्यावहारिकताको संगम पाइन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजका लागि पानी खाने कुवा खन्दछ ।

‘भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजका लागि केही गरुँ भन्ने भाव नभएको महससुस भएर ग्लानि हुन्छ । अनि उनी सिर्जनामा लागे । तर सबैको देन आआफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली जनमनमा सुरक्षित छन्’, भानुका अध्येता प्राध्यापक डा.कपिलदेव लामिछानेले भने ।

रामायणभित्र रहेका बालकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ । भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् ।

रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि छ । भानुभक्तका रचनामा लोकको प्रभाव छ भने उनीपछिका लोकका केही रचनामा भानुभक्तका रचनाको प्रभाव पाइने प्राध्यापक लामिछानेले बताए ।

‘एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनीबारे अझै र उनका कृतिबारे अझ थप अध्ययन र अन्वेषण गर्नु जरुरी छ’, साहित्यकार भरतकुमार पोखरेल भन्छन् । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन् । युवाकवि मोतीरामले भानुभक्तका कृतिहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका केही कृतिहरू मोतीरामले लेखेका हुन् भन्ने मान्यता राखेका छन् ।

‘भानुभक्तबाट अहिलेका पुस्ताले आफ्नो भाषाप्रति माया गर्न सिक्न जरुरी छ । उनलाई वर्षमा एकपटक मात्रै होइन, पटक–पटक सम्झिन पर्छ । नेपाली भाषाको अध्ययन, अनुसन्धान अनि विकास नै भानुप्रतिको सच्चा श्रद्धा हुनेछ । यही नै भानु जयन्ती मनाउनुको सार्थकता हुनेछ’, पोखरेलले भने ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानु जयन्तीको अवसरमा आज विभिन्न साहित्यिक संघसंस्थाले विभिन्न ठाउँमा रहेका भानुका शालिकमा माल्यापर्ण गरेका छन् । यसक्रममा उनीहरुले भानुको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।