January 25, 2025, Saturday
२०८१ माघ १३

रूपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान

भैरहवा– सवारी चालकलाई लेन अनुसान सिकाउने उद्देश्यले रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु गरिएको छ । यसले बढ्दो सवारी चापसँगै लेन अनुशासनका उल्घंन गर्दा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्ने ट्राफिक प्रहरीको विश्वास छ । बुधबारबाट सुरु अभियानको गृह सचिव एकनारायण अर्यालले शुभारम्भ गरेका छन् ।

Advertisement

बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर अर्यालले अभियानाको थालनी गरेका हुन् । गृह सचिव अर्यालले सडक प्रयोगकर्ता चालक वा पैदलयात्रु दुबै लेन अनुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिए । ‘चालकले अनुशासन पालना नगर्दा दुर्घटना हुनसक्छ, दुर्घटना हुँदा आफ्नो मात्रै होइन् अरुको पनि ज्यान जान्छ, यसमा विशेष ध्यान दिनुपर्छ’, उनले भने । उनले सहरीकरणसँगै सडकमा गाडीको संख्या बृद्धि भएको तर, चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्ने गरेकाले यस्तो चेतनामूलक कार्यक्रमले नागरिकलाई लेन अनुशासन पालना गर्न सिकाउने बताए ।

‘नागरिकको सहभागितामा सञ्चालन गरिने कार्यक्रमको प्रभावकारिता हुन्छ,’ गृहसचिव अर्यालले भने, ‘यसलाई प्रभावकारि तुल्याउन प्रशासन, प्रहरीले मात्र होइन, यहाँका संघसंस्थाले पनि हातेमालो गर्नुपर्छ ।’ उनले ट्राफिक नियमको पालना गर्ने हो भने आधा भन्दा बढी दुर्घटा न्युनीकरण गर्न सकिने भन्दै सबै नागरिकले यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

आर्थिक तथा व्यापारिक केन्द्र भएकाले रुपन्देही सवारी चाप दैनिक बढ्दो छ । पर्यटक पनि रुपन्देहीमा अधिक आउँछन् । यसले सडकमा चाप बढीरहेको छ । तर, लेन अनुशासन पलना नहुँदा कयौंपटक दुर्घटना भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताए । जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

‘अभियानमा समाजिक, व्यापारिक, नागरिक संघसंस्थाका साथै विद्यालयहरुको पनि सहयोग छ’, उनले भने, ‘रुपन्देहीमा दुर्घटना हुनै नदिन हामीले निरन्तर प्रयास गरिरहेका छौं । योजना बनाएर काम भइरहेका छन् ।’ जिल्लामा फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको उनले बताए । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्व बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रमका लागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उनले जनाए ।

लेन अनुशासन कार्यक्रमको संयोजन गरेका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्ष्क बजिरसिंह विष्टले एक हप्तासम्म जिल्लाका दुई दर्जन बढी ठाउँमा कार्यक्रम गरिने जनाए । यसक्रममा विद्यार्थी र नागरिकस्तरबाट पनि स्वयंसेवीरुपमा सहयोग हुने उनले जनाए । ‘जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक संघसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ’, उनले भने, ‘यसले दुर्घटना क मगर्न ठूलो सहयोग पुग्ने अपेक्षा छ ।’

कुन दिन कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयको समन्वय जिल्ला ट्राफिकले गरिरहेको विष्टले जानकारी दिए । ‘कुन दिन कहाँ, कसरी र कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा योजना बनाइएको छ,’ उनले भने, ‘स्थानीयसित समन्वयका लागि पत्राचार गरेका छौं, कतिपय ठाउँमा आफै पुगेर समन्वय गरेको छु ।’ उनले सबै नागरिक सचेत भए स्वतः दुर्घटना कम हुने भन्दै पछिल्लो एक वर्षमा सचेतनाका ५० बढी कार्यक्रम गरिएको विष्टले बताए ।