July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

रूपन्देहीका सीडीओको पहल र व्यवसायीको साथले मृत्युनजिक पुगेका व्यक्तिको जीवनदान

Advertisement

भैरहवा– नागरिकलाई सेवा प्रदान गर्ने जिम्मेवारी पाएका सरकारी कर्मचारीको पहलमा मृत्युदण्ड पाइसकेका व्यक्तिले जीवनदान प्राप्त गर्ने रहेछन् । त्यसको उदाहरण बनेका छन, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याल । जिल्लाको कमाण्डरका रुपमा रहेका अर्यालले आफ्नै पहलले बिदेशमा मृत्युदण्डको नजिक पुगेका धनुषाको जनकपुरका एक व्यक्तिले जीवनदान प्राप्त गर्ने वातावरण बनेको छ ।

Advertisement

सरकारी सेवकका रुपमा थुप्रै जिम्मेवारी र सीमा रहे पनि अर्यालले मानवीय पक्षलाई आत्मसाथ गरेर यस्ता वातावरण बनाउन सफल भएका हुन् । कडा सजायको पक्षमा कटिबद्ध रहेका पीडित परिवारलाई सम्झाईबुझाई गरेर ‘ब्लडमनी’मा सहमत गराउन सफलता मिलेपछि धनुषाका व्यक्तिले जीवनदान पाएका हुन् । मृत्युदण्डको सजायबाट बचाउन जिल्ला प्रशासनले आवश्यक तयारी पूरा गरेर कागजात बुधबार कन्सुलर विभागमा पठाएको छ । जिल्ला प्रशासनले मंगलबार नै पीडक र पीडित पक्षबीच ब्लडमनीमा सम्झौता गराएर आवश्यक कागजातमा हस्ताक्षर गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार तीन महिनाअघि कन्सुलर विभागबाट एउटा पत्र आएको थियो । २०८० चैत १२ गते आएको उक्त पत्रमा पाँच वर्षअघि साउदी अरबमा एउटै कम्पनीमा काम गर्नेे साथीबीच विवाद हुँदा धनुषाको जनकपुर नगरपालिका–१७, का रामाआषिश यादवको छुरा प्रहारबाट रुपन्देहीको कंचन गाउँपालिका–४, का दुुर्गाप्रसाद शर्माको ज्यान गयो । साउदी अरबको अदालतले सन् २०१८ सेप्टेम्बर ६ तारिखमा भएको उक्त घटनामा यादवलाई दोषी ठहर गरेर पाँच वर्ष कैद सजाय तोक्यो ।

२०२० डिसेम्बर २० तारिखमा अदालतले सुनाएको फैसलामा पाँच वर्ष कैद अवधिभित्रै पीडित परिवारसित ‘ब्लडमनी’ सम्झौता गर्न आदेश गरेको थियो । उक्त अवधिमा ब्लडमनीमा सम्झौता नभए यादवलाई मृत्युदण्ड हुने फैसलामा उल्लेख छ । कन्सुलर विभागले पीडक र पीडितबीच ब्लडमनी सम्झौता भएमा त्यही अनुसार र नत्र सम्झौंता भएन भनेर लेखेर पठाउन भनेको थियो । ‘पीडकले बिदेशमा पाँच वर्ष कैद भुक्तान गरिसकेका थिए,’ अर्यालले भने, ‘धनुषाका ती व्यक्तिले उक्त अवधिमा पर्याप्त प्रायश्चित गरिसकेको हुनुपर्छ । त्यसैले हामीले उनको ज्यान बचाउन लागि पर्यौ ।’

भौगोलिक रुपमा टाढा रहेका दुई परिवारबीच सम्झौताका लागि सुरुवातमा सरकारी तवरबाट केही सम्झौंता हुन्छ कि भनेर पहल गरेको अर्यालले बताए । तर, बिदेशी भूमिमा अपराध गरेको विषयमा मन्त्रिपरिषदबाट निर्णय गरेपछि मात्रै सरकारी तवरबाट भूमिका खेल्न सकिने उनले बताए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषालाई यादव परिवारका बारेमा जानकारी गराएर ब्लडमनी जुटाउन पहल गरिदिन अनुरोध गरेको उनले बताए ।

यादव परिवार सम्झौंताका लागि पहल गरिदिन भन्दैं रुपन्देही प्रशासन धाइरहेका थिए । तीन छोरीसहित आउने रामआषिशकी पत्नी रेनोकुमारी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा धरधरी रुन्थिन् । यादव परिवारको जनकपुरमा सम्पतिका नाउमा १३ धुर जमिन र फुसको घरमात्रै छ । यता पीडित परिवार ब्लडमनीमा सम्झौता नगर्ने अडानमा थिए । उनीहरु पीडकलाई कडा सजाय हुनुपर्ने भन्दैं अडिग थिए । त्यसपछि जिल्लास्थित निजी क्षेत्र र राजनीतिक दलको सहयोगमा सम्झौताको वातावरण बनाउन लागेको अर्यालले बताए ।

व्यक्तिगत रुपमा धेरैपटक पीडित परिवारसित सम्झौंताका लागि पहल गरेको अर्यालले बताए । ‘साँच्चै भन्नुहुन्छ भने मैले एक व्यक्तिको ज्यान बचाउन पीडित परिवारसँग आँसु खसालेर झुकेँ, अन्ततः प्रयास सफल भयो’, अर्यालले भने । कंचन गाउँपालिका अध्यक्ष र मृतकका दाजु मेघनाथ शर्माले सहयोग गरेको उनले बताए । धेरै दिन सम्झाएपछि पीडित परिवार ५० लाख रुपैयाँ ब्लडमनीमा सम्झौंता गर्न सहमत भए । यादव परिवारले त्यत्रो रकम जुटाउन सक्ने अवस्था थिएन ।

आर्थिक अभाव भएपछि प्रशासनले रुपन्देहीका व्यवसायीसित छलफल आयोजना गर्यो । उक्त छलफलमा प्रमुख जिल्ला अधिकारीले घटनाबारे सुनाए । पीडक र पीडित परिवार दुबैको आर्थिक अवस्था नाजुक रहेको र यादव परिवारले ब्लडमनी जुटाउन नसक्ने भएकाले मानवीय नाताले सहयोगका लागि आह्वान गरियो । उक्त छलफलमा वर्तमान समयमा सहयोग जुटाउन सहज नभएपछि सामाजिक उत्तर दायित्वका हिसावले सहयोग गर्न तयार रहेको व्यवसायीले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सहयोग जुटाउने प्रतिवद्धता जनाए ।

रुपन्देहीको निजी क्षेत्रका ३० जनाले मंगलबारसम्म ३६ लाख २५ हजार सहयोग जुटाए । यादव परिवारले १० लाख रुपैयाँ संकलन गरे । दुबैं गरेर ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी मंगलबार अपरान्ह जिल्ला प्रशासनमा पीडित परिवारलाई बुझाइयो । महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शर्माले उक्त रकम मृतककी पत्नि सीताकुमारी शर्मालाई हस्तान्तरण गरेका थिए । रकम जोहो भएपछि रामआषिशकी श्रीमती रेनोकुमारीले प्रमुख जिल्ला अधिकारी भगवान भएकै कारण श्रीमानको ज्यान बच्ने अवस्था आएको जनाइन् ।