July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

केन्द्रको ‘आदेश’ कुर्दै लुम्बिनीका मुख्यमन्त्री महरा

Advertisement

भैरहवा– सत्ताघटक प्रमुख दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा छ । सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री सामु अब दुई विकल्प छन्, पहिलो– प्रदेशसभा फेस गरी विश्वासको मत लिने, दोस्रो राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने ।

Advertisement

अहिलेसम्म मुख्यमन्त्री महराले आफूसँग भएका दुई विकल्पमध्ये कुनै रोजेका छैनन् । उनले अल्पमतको सरकार चलाइरहेका छन् । केन्द्रमा राजनीतिक समिकरण बदलिएपछि असार २० गते सत्ताघटक नेकपा एमालेले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । उसैदिन एमालेबाट मन्त्री बनेका नेताहरुले मुख्यमन्त्री महरालाई राजीनामा समेत बुझाएका थिए ।

त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री महराले कुनै निर्णय लिएका छैनन् । धेरैको आँकलन उनले राजीनामा दिने थियो । तर, महराको सचिवालयका अनुसार उनले तत्काल राजीनामा दिने छैनन् । संघका प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिँदैछन् । दाहाल पनि एमाले र साना दलले साथ छाड्दा अल्पमतमा छन् ।

‘प्रधानमन्त्रीले संसद फेस गरेपछि केन्द्रको राजनीतिले कुन रुप लिन्छ, त्यसपछि मुख्यमन्त्री महराले राजीनामा गर्ने की प्रदेशसभामा विश्वासको मतका लागि फेस गर्ने भन्ने निर्णय लिनुहुन्छ’, मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले भने । माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार मुख्यमन्त्रीले केन्द्रको ‘आदेश’ कुरिरहेका छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत नलिँदै प्रदेशमा पार्टीबाट कुनै निर्देशन आउला जस्तो देखिएन’, ती प्रदेशसभा सदस्यले भने, ‘मुख्यमन्त्री ‘आदेश’को पर्खाईमा हुनुहुन्छ, माथिबाट राजीनामा गर भने गर्नुहुन्छ, संसद फेस गर्न भने त्यही गर्नुहुन्छ ।’

प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना छैन । जसले गर्दा मुख्यमन्त्री महराले पनि विश्वासको मत पाउँदैनन् । उनले असार भित्र वा साउनको पहिलो हप्ता राजीनामा दिने मुख्यमन्त्री निकट स्रोतले बतायो । मुख्यमन्त्री महरा पनि त्यही ‘मुड’मा छन् । तर, केन्द्रको आदेशको पर्खाइ गरिरहेका छन् । गत चैत्र २३ मा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । चैत्र २५ मा सपथ लिए यता उनले लुम्बिनी सरकारको नेतृत्व गरिरहेका छन् ।

उनले चैत्र ३० गते विश्वसको मत लिएका थिए । मुख्यमन्त्री महराललाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता सामाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले विश्वासको मत दिएका थिए । यो बीचमा जनता समाजवादी पार्टी फुटेको छ । पार्टी फुटेर जनता समाजवादी पार्टीतिर २ सांसद गएका छन् । जसपा नेपालतिर लागेका एक सांसदले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्री महरालाई ४७ जना सांसदको समर्थन थियो ।

नयाँ समिकरण अनुसार एमालेले साथ छाड्दा मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् । लुम्बिनीमा नेपाल एमालेका २९ सांसद छन् । लुम्बिनीमा केन्द्रको समिकरण अनुसार काँग्रेस–एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका २७ सांसद छन् ।

नेपाल माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ३, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका, जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का १–१ र स्वतन्त्र सांसद एक जना छन् ।