July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

मन्त्री बन्न लुम्बिनीका सांसदको काठमाडौं दौडधुप

Advertisement

भैरहवा– भैरहवास्थित एक कार्यक्रममा गत शनिबार प्रमुख अतिथि बनेर आएका नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य वसीउद्दीन खाँ हतारमा देखिन्थे । उनलाई कार्यक्रम सकेर जतिसक्दो चाँडो काठमाडौं जानु थियो । केन्द्रमा राजीनितक समिकरण बदलिँदा त्यसको असर प्रदेशसम्म परेको छ । प्रदेश सरकार अल्पमतमा परिसकेकाले अहिले नेताहरु मन्त्री बन्न केन्द्रीय नेताको घरदैलो धाइरहेका छन् । खाँ पनि मन्त्री बन्ने दौडमा छन् ।

Advertisement

त्यसैले उनले हतारहतार कार्यक्रम सकेर काठमाडौं लागे । उनले कार्यक्रममा ५ मिनेट पनि बोलेनन् । उनीअघि बोल्ने वक्ताले अब बन्ने सरकारमा मन्त्री हुने सम्भावना रहेको भन्दै खाँलाई शुभकामना दिइरहेका थिए । कार्यक्रममा बोल्दै उनले पनि अन्य अतिथिले दिएको शुभकामना नकार्न सकेनन् । ‘तपाईंहरुको आशीर्वादले मन्त्री बन्न पाउँ, यहाँहरुले देखाएका समस्यामा पहलकदमी गर्छु’, उनले भनेका थिए, ‘सबैको शुभेच्छालाई मैले सकारात्मक ढंगले ग्रहण गरेको छु ।’

खाँ एक उदाहरण सांसद मात्रै हुन् । अहिले लुम्बिनी प्रदेशका काँग्रेस–एमालेका अधिकांश सांसदको बास काठमाडौंमा छ । काठमाडौं पुगेर उनीहरुले आआफ्ना लबीका नेताहरुको दैलो चहार्दै छन् । ‘मन्त्री बनाइदिन पर्यो भनेर काठमाडौं जानेको लर्को नै छ’, एमाले एक सांसद भन्छन्, ‘म गइनँ, बनभ ने बन्छु, नत्र जोडबल गर्दैनँ’, उनले भने, ‘मन्त्री भएर पनि काम गर्न सकिँदैन । जनताका अपेक्षा धेरै छन् । काम गर्न नसके गाली मात्रै खाने न हो ।’

एमाले भन्दा प्रदेशबाट काठमाडौं धाउनेमा काँग्रेस सांसद बढी छ् । एमाले–कांग्रेस मिलेर गठबन्धन बनाएको भोलिपल्टै लुम्बिनीका कांग्रेस संसदीय नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ पुगेका थिए । चौधरी दुई दिन अघिमात्रै काठमाडौँबाट फर्किएका छन् । कांग्रेस प्रदेश सभापति अमर पुन अहिले काठमाडौँमै छन् ।

काँग्रेस प्रदेश सचेतक निमा गिरी, सांसद जमुना ढकाल, माया पुन, प्रचण्ड विक्रम न्यौपाने, राजु खनाल, देवी चौधरी, धनेन्द्र कार्की लगायत पनि काठमाडौंमा छन् । त्यहाँ पुगेर नेताहरु भेट्ने र मन्त्रीका लागि लबिङ गर्न उनीहरु व्यस्त छन् । काँग्रेस–एमालेबीच भएको सहमतीमा लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्ने भनिएको छ । तर, काँग्रेस नेताहरु काँग्रेसले नेतृत्व लिने भनेर लागेकै छन् नै मन्त्री बन्न चर्को लबिङ गरिरहेका छन् ।

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महाराले विश्वास मत लिने या राजीनामा गर्ने भन्ने प्रस्ट भइसकेको छैन । यद्यपि माओवादी प्रमुख सचेतक इन्द्रजित थारुले विश्वासको मतका लागि संसद फेस गर्ने बताउँछन् । मुख्यमन्त्री महराले २८ गतेपछि कसरी जाने भन्ने ठोस निर्णय लिने सोच बनाएका छन् । ८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा कांग्रेस र एमालेको ५६ सिट छ । त्यस आधारमा मुख्यमन्त्री महराले एमाले, कांग्रेसको समर्थन विना बहुमत पुर्याउन सक्दैनन् ।

यसैले पनि मन्त्री बन्न काठमाडौं धाउनेको लर्को लागेको हो । २० गते एमालेले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनीको मुख्यमन्त्री एमाले नेता लिला गिरीको दौडधुप छ । एमालेका पनि केही नेताहरु काठमाडौं पुगेको जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रमा समिकरण बदलेर असार २० गते रुपन्देही आएका थिए । उक्त अवसरमा धेरै संसादले भेटेर आफ्ना कुरा राखेका थिए । केन्द्रमा भएको सहमति अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । सोही आधारमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री हुनेमा विश्वस्त छन् ।

लीला गिरीले दोस्रो प्रदेशसभा निर्वाचनपछि बनेको पहिलो सरकारको नेतृत्व गरेका थिए । उनले जम्मा ३ महिनामात्रै सरकारको नेतृत्व गर्न पाए । त्यसपछि कांग्रेसका डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्व गरे । त्यतिबेला एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रह्यो भने माओवादी सत्ता साझेदार दल बन्यो । सत्ता समीकरण परिवर्तनपछि माओवादीका महराको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारमा एमालेका ५ जना मन्त्री बने ।

अहिले एमालेबाट मन्त्री बन्न चेतनारायण आचार्य, विष्णु पन्थी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, खेम सारु, तुलसीप्रसाद चौधरी, बसन्ती न्यौपाने, जानकी न्यौपाने, सीता शर्मा लगायत दौडधुपमा छन् । उनीहरुले खासगरी एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमार्फत् लविङ गरिरहेका छन् ।