July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्न इकोमसको टोली आउँदै

Advertisement

भैरहवा– प्राचीन कपिलस्तु (तिलौराकोट) लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रयासले मूर्तरुप पाउने क्रममा छ । विश्व सम्पदा सूचिकृत गर्नका लागि सरकारले प्रस्ताव पठाइसकेको अवस्थामा अहिले यसको अनुगमन र बाँकी प्राविधिक काम भइरहेका छन् ।

Advertisement

तिलौराकोटको वर्तमान अवस्था अनुगमन मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मिसन टोली यहाँ आउने भएको छ  । लुम्बिनी बिकास कोषका अनुसार आगामी अगस्त अन्तिममा इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (इकोमस) को विज्ञ टोली तिलौराकोट आउने भएको हो । मिसनले अगस्त २६ देखि सेप्टेम्बर १ सम्म यहाँको अनुगमन मूल्यांकन गर्ने प्रस्ताव गरेको छ ।

तिलौराकोटलाई सन १९९६ मा सम्भावित विश्व सम्पदा सूचीमा राखिएको थियो । त्यसपछि निरन्तर रुपमा यसलाई सूचिकृत गर्न पहल हुँदै आएको थियो । तिलौंराकोट शाक्य राजधानी भएको थप प्रमाण जुटाउन दुई दशकदेखि उत्खनन् र अनुसन्धानका काम भइरहेका छन् । युनेस्को मिसनले यसको नेतृत्व गरिरहेको थियो । विभिन्न दातृ निकायको सहयोगमा पुरातत्व बिभाग, लुम्बिनी बिकास कोष र लण्डनको डुह्राम युनिभर्सिटीले संयुक्त रुपमा उत्खनन् परियोजना सञ्चालन गरेका थिए ।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा केन्द्रमा मिसनले तिलौंराकोटको स्थलगत अध्ययन गरेरर प्रतिवेदन बुझाएपछि त्यसमाथि छलफल हुनेछ । सुरुमा विश्व सम्पदा केन्द्रको सल्लाहकार समूहले प्रतिवेदनमाथि छलफल गरेर के गर्ने भन्ने निर्णय गर्न सिफारिस गर्नेछ । त्यसैका आधारमा विश्व सम्पदा समितिले छलफल गरेर राय सुझावसहित समितिको सन् २०२५ मा हुने ४७औं सेसनमा निर्णयार्थ पेस गर्ने तिलौराकोटको नोमिनेसन डोसियर (मनोनयन दस्ताबेज) तयारी समिति संयोजक तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए ।

यही जुलाई २१ देखि ३१ सम्म भारतमा हुने विश्व सम्पदा समितिको ४६औं सेसनले अर्को वर्षको बैठकबारे स्थान र मिति तय गर्ने कार्यक्रम छ । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमसले फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईलाई पत्राचार गरेर मिसन आउनेबारे जानकारी दिएको हो ।

मिसन आउनुअघि नै तिलौराकोटलाई सजाएर ‘प्रिजेन्टेबल’ बनाउन लागिपरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । ‘तिलौराकोटमा रहेको कोषको सम्पर्क कार्यालय भवन भत्काउन टेन्डर गरिएको छ,’ उनले भने, ‘तिलौराकोटदेखि पश्चिम रहेको शिवगढ गाउँका ३७ घर हटाउन असारसम्मको म्याद दिइएको छ ।’ बाँकी १३ घरलाई पनि मुआब्जा लिन आउन सूचना गरिएको उनले बताए ।