July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने २१८ जना विद्यार्थीलाई सम्मान

Advertisement

भैरहवा– निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन), सिद्धार्थनगर, रुपन्देहीले २०८० को एसईईमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगर क्षेत्रमा संस्थामा आबद्ध विद्यालयहरुबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नजिता ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर प्रमुख इश्तियाक अहम्मद खाँ, उपप्रमुख उमा अधिकारी, प्याब्सनका अध्यक्ष गोकुल पोखरेल, केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, उद्योग ब्यापार संगठन, रुपन्देही अध्यक्ष दर्पण श्रेष्ठ लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई खादा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

Advertisement

सिद्धार्थनगरबाट यसपटकको एसईई परीक्षामा सिर्दिमा पन्तले ३.९६ जीपीएर ल्याएर नगर प्रथम भएकी थिइन् । यस्तै, छात्रतर्फ दृष्टान्त रेग्मीले ३.९१ जीपीए ल्याएर नगर प्रथम भएका थिए । उनीहरु दुबैजना काशी नोबल एकेडेमीबाट एसईई दिएका विद्यार्थी हुन् । उनीहरुसँगै प्याब्सनले ३.२ भन्दा माथि जीपीए ल्याउने २१८ जना विद्यार्थीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख खाँले नगरको शिक्षालाई सुधार गर्न सबै किसिमको पहलकदमी गरिएको जनाए । उत्तीर्ण विद्यार्थीहरुलाई आगामी दिनमा राम्रोसँग अध्ययन गरी मुलुकका लागि आवश्यक जनशक्तिका रुपमा उभिने गरी लाग्न अनुरोध गरे ।

उपप्रमुख उमा अधिकारीले अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी सबै जिम्मेवार भए आगामी दिनमा नगरको शिक्षा सुधार हुने जनाइन् । उनले आजका विद्यार्थी भविष्यका कर्णधार भएको जनाउँदै आगामी शैक्षिक यात्रालाई सफल र फलदायी बनाउन आग्रह गरिन् । प्याब्सनका अध्यक्ष गोकुल पोखरेल, केन्द्रीय उपाध्यक्ष पन्थी, क्रिकेट संघका अध्यक्ष थापा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष आचार्य, संगठनका अध्यक्ष श्रेष्ठले एसईई नतिजाले नगरको शिक्षा खस्किएको देखाएको जनाउँदै आगामी दिनमा यसलाई सबैको पहलकदमीले सुधार गर्न जरुरी रहेको जनाए ।

उनीहरुले निजी विद्यालयहरुको नतिजाले नगरको इज्जत धानेको बताउँदै सामुदायिक विद्यालयको नतिजा पनि सुधार गर्न जरुरी रहेको बताए । एसईई उत्तीर्ण विद्यार्थीहरुलाई भैरहवामै अध्ययन गर्न आग्रह गर्दै उनीहरुले उज्वल शैक्षिक भविष्यको शुभकामना दिए । एसईईमा सिद्धार्थनगरबाट १ हजार ५६१ परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये जम्मा ६९० जना मात्रै उत्तीर्ण भएका छन् । त्यसमा पनि अधिकांश निजी विद्यालयमा अध्ययनरत विद्यार्थी छन् ।

प्याब्सनका अनुसार निजीबाट ८५९ विद्यार्थीले परीक्षा दिएकामा ५५३ जना उत्तीर्ण भएका छन् । सामुदायिबाट भने १३७ जना मात्रै उत्तीर्ण भएको सिद्धार्थनगरपालिकाले जनाएको छ । प्याबसनमा आबद्ध २५ वटा विद्यालयमध्ये मावि कक्षा १९ वटा विद्यालयमा मात्रै संचालित छन् ।