July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

बुटवल आएर ओलीले भने– शिक्षकका कारण एसईईको नतिजा खस्कियो

Advertisement

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको आरोप लगाएका छन् । उनले शिक्षकहरु गुणस्तरका नभएको भन्दै यही कारण धेरै विद्यार्थीहरु एसइईमा फेल भएको जनाए ।

Advertisement

एमालेको भ्रातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी, रुपन्देहीले बिहीबार एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीका लागि आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षकका कारण नतिजा खस्किएको दावी गरे । ‘शिक्षकहरुले आफूभित्रको ज्ञान पनि बाँड्न सकेनन्, अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ । यसका विशेष ध्यान दिन जरुरी छ’, उनले भने ।

खासगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परीक्षामा अनुत्तीर्ण भएको भन्दै अहिले अनुत्तीर्ण भए पनि पुरक परीक्षामा पास हुनुपर्ने जनाए । ‘यसका लागि हामीले निःशुल्क अनलाइन कक्षा संचालन गर्दै छौं, त्यसमा जोडिन सबै विद्यार्थीहरुलाई मेरो आग्रह छ,’ ओलीले भने, ‘एसइईमा नन ग्रेड नतिजा आएका विद्यार्थीहरुले दिने पूरक परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दैछौं ।’

त्यस्तो निःशुल्क अनलाइन कक्षा कसले सञ्चालन गर्ने भन्ने ओलीले स्पष्ट पारेनन् । २०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ । सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइन मार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए ।

अनेरास्ववियुले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसहित ३।६ जीपीए भन्दा माथि ल्याएका १०१२ जना विद्यार्थीलाई सम्मान गरेको जिल्ला कमिटी अध्यक्ष भरत अर्यालले जानकारी दिए ।