पानी पर्ने वित्तिकै बुटवल डुवानमा (फोटो फिचर)

बुटवल– लामो समय खडेरी झेलेको रुपन्देहीमा बुधबार बिहान वर्षा भएको छ । वर्षाको केन्द्र भने आर्थिक नगरी बुटवल बनेको छ । तर, लामो पर्खाइपछि झरी पर्दा बुटवलबासीलाई भने सास्ती मिलेको छ । बिहान करिब दुई घण्टा परेको पानीले बुटवल चुर्लुम्म डुब्यो ।
अहिले बुटवलको जताततै पानीपानी बनेको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग खोला जस्तै बनेको छ । मुख्य मार्गमा भल बग्न थालेपछि सर्वसाधरणलाई वारपार गर्न समस्या भएको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुधबार बिहान भएको वर्षापछि सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरे– ‘अहिले बुटवल र यसको सेरोफेरोमा आएजस्तै मुसलधारे वर्षा तिनाउको जलाधार क्षेत्र पाल्पाका माडी, तानसेन नगरपालिका र रिब्दिकोटमा परेको भए तिनाउमा बाढी आउन सक्थ्यो, त्यसैले तटीय क्षेत्रमा बसोबास गर्नेहरुले सूचना लिँदै सावधानी अपनाउ ।’
उनले भनेजस्तै बुटवलको तिनाउ आसपासका बासिन्दालाई बाढीको त्रास छ भने सहरका बासिन्दालाई डुवानको । अहिले बुटवलका बासिन्दाका सामाजिक सञ्जाल एकाउण्टमा बुटवलमा पानी नै पानी भएका तस्बीर सार्वजनिक भइरहेका छन् । यात्रु र सवारीका साधन मुख्य सडकमै गहिरो पानीमा ओहोरदोहोर गर्न बाध्य छन् । एक महिनामा एकछिन भएको वर्षापछि बुटवल डुवानमा परेको हो । यसअघि एकछिन बर्षापछि उर्लिएको भेल बुटवल उपमहानगरपालिका कार्यालयमै पसेको थियो । जसले गर्दा उपमहानगरको लिफ्ट, सवारीका साधन र बिजुली उपकरणमा क्षति पुगेको थियो भने सहरमा सहज ओहोर दोहोर हुन सकेको थिएन । मुख्य मार्ग हिलाम्य थिए ।
बुटवलका सञ्चारकर्मी बिकास पराजुलीले आफ्नो फेसबुक एकाउण्टमा बुधबार बिहान वर्षाका कारण बुटवलको जनजीवन प्रभावित भएका करिब एक दर्जन तस्बीर पोष्ट गरेर भनेका छन्– ‘बुटवलमा झमझम पानी, त्यही पानी भइदियो बैमानी ।’ उनले पोष्ट गरेका तस्बीरमा सडकको बीचमा गाडी डुवानमा परेका छन् । स्कुटर, मोटरसाइकल चलाउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । घरभित्र पानी पस्न थालेपछि सर्वसाधरण आत्तिएका देखिन्छन् ।
छाता ओढेर र रेनकोट पहिरिएर यात्रा गरिएका व्यक्तिलाई सुरक्षित गन्तव्यमा पुग्न धौ भएको देखिन्छ । सञ्चारकर्मी मुक्ति गैरेले आफ्नो फेसबुक एकाउण्टमा रुपन्देहीमा वर्षा र बाढी उल्लेख गर्दै त्यसले पुर्याएको सकस प्रष्ट हुने तस्बीर पोष्ट गरेका छन् । बुटवलको राजमार्ग चौराह, कालीकानगर, योगीकुटी, ट्राफिक चोक, नेपालगञ्ज रोड, मिलनचोक लगायतका क्षेत्रहरु जलमग्न बनेका थिए । बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्म ६ लेन सकड बिस्तकारको कामले पूर्णता नपाउँदा हरेक वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ । यसैगरी बुटवल–नारायणगढ सडक बिस्तरको कामले समेत वर्षायाममा बुटवल जलमग्न हुने गरेको छ । डुवानले केही व्यापारिक प्रतिष्ठानमा समेत क्षति पुर्याएको छ ।
Photo: Bikash Parajuli
प्रतिकृया दिनुहोस्