May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

नेपाली उत्पादनको बृद्धि र श्रममूल्य समय सापेक्ष बनाउन जरुरी छः मुख्यमन्त्री महरा

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई बिदेशमा जानबाट रोक्नुपर्ने बताएका छन् । उनले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सवैपक्षले छलफल चलाउनु पर्ने धारणा राखे । नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यही खपत हुने वातावरण सिर्जना गर्नेतर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी दिए ।

Advertisement

‘नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनु पर्ने बाध्यता रहेको छ’, मुख्यमन्त्री महराले भने, ‘नेपाली उत्पादनको बृद्धि र श्रममूल्य समय सापेक्ष बनाउन जरुरी देखिन्छ ।’ दाङको घोराहीमा सूचना तथा सञ्चार प्रविधिको विकासको नविनतम प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले समयको रफ्तारसँगै प्रविधिको विकास र विस्तार हुँदै गएको जनाए ।

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्वारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सवैले जोडदिनु पर्ने सुझाव दिए । विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ती उत्पादनका लागि सवैपक्षले काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सहिरुपमा प्रयोग गर्न जरुरी भएको बताउँदै गतलरुपमा प्रयोग हुने विषयवस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरे । ‘नेपालको गुणस्तर शिक्षालाई टेक्नोलोजीसँग जोड्नु जरुरी छ’, मुख्यमन्त्री महराले भने, ‘प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’

नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशिने क्रम बढ्दो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने बातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गरे । उक्त कार्यक्रममा प्रविधि क्षेत्रमा ५ जना विज्ञले प्रविधिक्षेत्रको बौद्धिक प्रयोग गर्ने विषयमा प्रशिक्षण गर्नेछन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायव महाप्रवन्धक इ.चिन्तामणि बराल र नेपाल टेलिकमका इ.रबिराज यादवले कृत्रिम बौद्धिकता सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गरेका थिए ।