तिनाउमा डुबेर तीन दिनमा तीनजनाको मृत्यु, छैन कुनै सतर्कता
पाल्पा– तिनाउ नदीमा डुबेर पछिल्लो तीन दिनमा तीन जनाको मृत्यु भएको छ । यसले आम चिन्ता बढाएको छ । पाल्पास्थित तिनाउ खोलामा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । पाल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना बालक समेत छन् । अन्य दुई जना मृतक पनि पुरुष नुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार शनिबार, आइतबार र सोमबार गरी तिनाउमा डुबेर तीनजनाको मृत्यु भएको हो । गर्मी छल्न आएका भारतीय नागरिकहरु तिनाउमा पौडी खेल्न पुगेका थिए । तर, खोलामा डुब्दा उनीहरु कहिल्यै फर्किन नसक्ने गरी बलिय भएका छन् ।
श्रेष्ठका अनुसार सोमबार तिनाउ गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको पानीमा डुबेर मृत्यु भएको हो ।
उनीसँगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा चिकित्सकले शर्मालाई मृत घोषणा गरेका थिए । यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।
गर्मी छल्न आएका नागरिकको दैनिक रुपमा मृत्यु हुँदा पनि कुनै सतर्कता अपनाइएको छैन । यो वर्ष लागेपछि मात्रै सो क्षेत्रमा डुबेर ६ जनाले ज्यान गुमाएका छन् । खोलाको खोँचका रह र पोखरीको गहिराइ आकलन नगरी पौडी खेल्दा हरेक वर्ष यसै गरी युवाको मृत्यु हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्