भैरहवामा एमाले रूपन्देही जिल्ला अधिवेशनको रौनक (फोटो फिचर)


भैरहवा– नेपाल कम्युनिष्ट पाटी (एमाले), रुपन्देहीको १०औं जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । भैरहवास्थित पाँचतारे होटल सिद्धार्थ भिलासामा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्घाटन भने केही समयमा हुँदैछ । एमाले केन्द्रीय कमिटी उपाध्याक्ष विष्णुप्रसाद पौडेलले अधिवेशनको उद्घाटन गर्दैछन् ।
दुई दिनसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा सहभागी हुन एमालेका जिल्लाका विभिन्न कमिटीबाट चुनिएका प्रतिनिधि, शुभेच्छुक र भातृ संगठनका कार्यकर्ता जम्मा भएका छन् । पार्टीको आन्तरिक जीवनलाई सदृढिकरण गर्न महत्वपूर्ण मानिने अधिवेशन भएकाले एमाले रुपन्देहीका कार्यकर्तामा छुट्टै रौनक छ ।
कार्यक्रमस्थलमा जमघट भइरहेको छ भने नेतृत्वमा को आउँछ भन्नेबारे कार्यकर्ता र प्रतिनिधिबीच छलफल भइरहेको छ । यहाँको माहोला एमालेमय बनेको छ । अधिवेशनको बन्दसत्रमा आज राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश हुने एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।
जिल्लाको १६ पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी कुल ८५३ जना प्रतिनिधिको चयन भई अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।
उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष पौडेलसँगै सचिव छबिलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने जनाइएको छ ।












प्रतिकृया दिनुहोस्