गौतमुद्ध विमानस्थलमा पूर्णआपतकालीन अभ्यास (फोटो फिचर)


भैरहवा– दुर्घटना पूर्वतयारी स्वरुप यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नागरिक सरोकारवालाको सहभागितामा दुई वर्षको अन्तरमा यस्तो अभ्यास गरिएको हो । पूर्ण आपतकालीन अभ्यासलाई वास्तविक तुल्याउन विमानस्थलमा रहेको पूरानोे विमानमा आगलागी गराइएको थियो । त्यसपछि उद्धार, उपचार र सावधानीका कार्यलाई सजिव ढंगले प्रस्तुत गरिएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन नियम अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दुई वर्षमा सम्पूर्ण सरोकारवालाको सहभागितामा दुर्घटना न्यूनिकरणका तथा आपतकालीन उद्धारका लागि यस्तो अभ्यास गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । विमानस्थलको धावन मार्गको दक्षिणतर्फ रहेको क्राइसिस म्यानेजमेन्ट क्षेत्रमा बिहान उडान भरिरहेको अवस्थामा चरा ठोक्किएर अनियन्त्रित बनेपछि चालकले आपतकालीन अवस्था घोषणा गरेर ल्याण्डिङ गरेपछि विमानमा आगलागी भएको अवस्थाको कल्पनामा यस्तो पूर्ण आपतकालीन अभ्यास गरिएको थियो ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले तीनवटा अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल’मा यस्तो अभ्यास गर्नुपर्छ । यसमा विमानस्थल र स्थानीय सम्पूर्ण सरोकारवालाको सहभागिता रहन्छ । सोमबार गरिएको अभ्यासमा विमानस्थल कर्मचारीकासाथै नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, फायर फाइटर, चिकित्सक, रेडक्रस र नागरिक सरोकारवालको सहभागिता रहेको थियो ।
‘आपतकालीन अवस्थाको कल्पना गरेर रियल अभ्यास गरेका हौं,’ तिवारीले भने, ‘यसको उद्देश्य दुर्घटना नहोस्, भइहालेमा न्यून क्षति होस् भन्ने हो ।’ यसका साथै छिटो उद्धार कार्य सकेर कम समयमा विमानस्थललाई कसरी सामान्य अवस्थामा फर्काउन सकिन्छ भन्नेबारे अभ्यास गरिएको उनले बताए ।

क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो । आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार बाहनले निभाएका थिए । उक्त कार्यमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले सघाएका थिए । विमानको आगो निभाएरपछि यात्रुको उद्धार अभ्यास गरिएको थियो ।
विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्था अनुसार वर्गिकरण गरेका थिए । घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो । उद्धार कार्यको विमास्थलका महाप्रबन्धकसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखले समन्वय गरेका थिए ।
त्यसका लागि नजिकै रहेको भवनमा कमाण्ड कन्ट्रोल कक्ष स्थापना गरिएको थियो । अभ्यास स्थलमा जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौंर, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख आनन्द थापा, अनुसन्धान प्रमुख र नेपाली सेनाका विभिन्न गणका प्रमुख सहभागी रहेका थिए । रेडक्रसका साथै विभिन्न अस्पतालका टोली उपस्थित थिए ।












प्रतिकृया दिनुहोस्