गर्मी बढेपछि पालिकाद्वारा धमाधम विद्यालयहरूमा विदा
भैरहवा– गर्मी ह्वात्तै बढेपछि स्थानीय तहले पालिकाभित्रका विद्यालयमा धमाधम विदा दिन थालेका छन् । पछिल्लो हप्ता तराईका जिल्लाहरुमा घर्मी अत्यधिक बढीरहेको छ । सिद्धार्थनगर नगरपालिकाले शुक्रबारदेखि आउँदो जेठ २५ गतेसम्मका लागि नगर भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत बिद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेको भन्दै नगरपालिकाले आजदेखि विदा दिएको हो । नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गते (शुक्रबार) देखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको नगर प्रमुखम रामकृष्ण खाँणले जानकारी दिए ।
‘अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको हो’, खाँणले भने । पछिल्लो समय रुपन्देहीको तापक्रम ह्वात्तै बढेको छ । गर्मीले विद्यार्थीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, शरीर चिलाउने, बेहोस हुने लगायतका समस्या देखिँदै आएको छ ।
सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले नगरपालिकाको विपत व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार बिद्यालयमा बिदा दिइएको बताए । ‘गर्मीले बिद्यालयमैं बिद्यार्थी वेहोस भएर ढल्ने समस्या धेरै आयो’, लम्सालले भने, ‘बिद्यालय बन्द गर्नु पर्ने सुझावसहितको अभिभावकको पनि धेरै फोन आयो ।’ यस अवधिमा संचालन भैरहेको कक्षा ११ को परीक्षा र अन्य राष्ट्रियस्तरका परीक्षा संचालन गर्न भने बाधा नपर्ने उनले बताए ।
नेपालगंज, बर्दियाका विद्यालयहरुमा पनि विदा दिइएको छ । गर्मीले बालबालिकाको स्वास्थ्य प्रभावित भएपछि पश्चिम नवलपरासीका चार वटा स्थानीय तहले विद्यालयहरुमा बिदा दिएका छन् । जिल्ला सदरमुकाम रामग्राम, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएका हुन् ।
रामग्राम र बर्दघाट नगरपालिकाले जेठ १७ र १८ गते नगरभित्रका निजी तथा सामुदायिक र धार्मिक विद्यालयमा बिदा दिएका हुन् । प्रतापपुर गाउँपालिकाले जेठ १६, १७ र १८ तीन दिनका लागि बिदा दिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ ।
सरावल गाउँपालिकाले १७ गतेदेखि २० गतेसम्म ४ दिनको बिदा दिएको छ । दाङका तीन स्थानीय तहले पनि विदा दिएका छन् । गर्मी विदा दिने पालिकाहरुमा तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिका छन् । यी पालिकाले सूचना प्रकाशन गर्दै अत्यधिक गर्मी बढेका कारण विद्यालयमा विदा दिइएको जनाएका छन् ।
विद्यार्थी बेहोस हुने, शरीरको बाह्य भागमा एलर्जी देखा पर्ने जस्ता स्वास्थ्य समस्या देखा परेपछि हिउँदे र बर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयमा विदा दिने निर्णय भएको सूचनाका उल्लेख छ । यस्तै, कपिलवस्तु, बाँके लगायतका जिल्लाका पालिकाले पनि विदा दिएका छन् ।
प्रतिकृया दिनुहोस्