October 15, 2024, Tuesday
२०८१ आश्विन २९

‘बुटवललाई व्यापार र बसोबासको सहर बनाउँदैछौं’

आर्थिक तथा व्यापारिक हिसाबले बुटवल लुम्बिनी प्रदेशकै प्रमुख सहर हो । पछिल्लो समय आर्थिक मन्दीका कारण बुटवल लगायत समग्र मुलुकको अवस्था खस्किँदो छ । यसबाट व्यवसायी निरास छन् । सम्भावनै सम्भावना बोकेको र पटकपटक उत्कृष्ट नगर भइसकेको बुटवल उपमहानगरपालिकाको नेतृत्व खेलराज पाण्डेयले गरिरहेका छन् । उनले बुटवल बनाउने सपना बोकेको बताउँछन् । प्रस्तुत छ उपमहानगर प्रमुख पाण्डेयसँग पब्लिक कुराले गरेको कुराकानीः–

Advertisement

बुटवल आफैमा ऐतिहासिक सहर हो, यसको पृष्ठभूमिबारे केही बताइदिनुस् न ?
विभिन्न तथ्यले बुटवल सयौं वर्ष अगाडिदेखि गणराज्यको राजधानी र व्यापारिक नाका रहेको देखाउँछन् । रुपन्देहीको उत्तर चुरे फेदमा अवस्थित बुटवलका परम्परागत नाम खस्यौली, बटौली, बुटौल हुन् । जुनसुकै नामले परिचित रहे पनि बुटवल इतिहासदेखि बसोबास र व्यापारको केन्द्र रहेकोमा शंका छैन । जितगढी किल्ला जहाँ नेपालले अंग्रेजलाई दुई सय वर्षअघि हराएको इतिहास पाइन्छ । सेनवंशीय राजाले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । बटौली नुन र कपडाको व्यापारसित जोडिएको छ । सहरबीचबाट महेन्द्र र सिद्धार्थ राजमार्ग विस्तारपछि बुटवलले एक सय वर्षअघि नै आधुनिक स्वरुप प्राप्त गरेको थियो । बुटवल विविधताले भरिपूर्ण सहर हो । ५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनलाई व्यापारकालागि यहाँ भित्र्याएको पाइन्छ । त्यही सेरोफेरोमा नेवार समुदायपनि यहाँ आएका थिए । सडक बिस्तारसँगै १९९५ सालमा मुस्ताङबाट थकालीहरु यहाँ आए । तत्कालीन समयमै व्यापार विनिमयमा बुटवल प्रख्यात थियो । पहाडबाट विक्रीका लागि ल्याइएको घिउ प्रशोधन गरेर भारत लगाय मुलुकमा पठाइन्थ्यो । त्यसबेला ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली बनेको थियो ।

मुलुकका पुराना नगरपालिका मध्ये बुटवल एक हो, यसको स्थापनाको पृष्ठभूमि कस्तो छ ?
विसं. २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापना भयो । त्यसको अर्को वर्ष बहुदलीय व्यवस्था बिघटन भएपछि यसलाइ बुटवल खस्यौली नगर पञ्चायत बनाइयो । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि यसको नाम बुटवल नगरपालिका राखिएको थियो । २०७१ मंसीर १६ गते उप–महानगरपालिकामा स्तरोन्नति भएको बुटवल बस्न योग्य सहरका रुपमा रहेको छ । उपमहानगरपालिकाभित्र औपचारिक बसोबास गर्नेको संख्या दुई लाख हाराहारी छ । अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या थप २ लाख रहेको अनुमान छ । लोकतन्त्र बहालीसँगै बुटवले विकासमा फड्को मारिरहेको छ । देशकै मध्यभागमा पर्ने र सहज पहुँच भएकाले यो सहर सबैतिरको रोजाईमा पर्छ । बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर बनाउने योजनासहित काम भइरहेको छ । सामरिक र ऐतिहासिक दृष्टिले मात्रै हैन, पर्यटकीय र व्यवसायिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण थलो हो । विकासमा बुटवलले काठमाडौंलाई पछि पार्ने गरी अगाडि बढेको छ । वास्तवमा, बुटवल रुपन्देहीको भूगोलमा मात्रै सीमित छैन । बर्दघाटदेखि पश्चिम दाङसम्मको भेग बुटवलबाट प्रभावित क्षेत्र हो ।

यहाँको अर्को महत्वपूर्ण पाटो भनेको व्यापार व्यवसाय हो, तपाईं नेतृत्वमा आएपछि यसलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
साविक लुम्बिनी अञ्चल र अहिले लुम्बिनी प्रदेशकै आर्थिक नेतृत्व बुटवलले गरिरहेको छ । चाहे त्यो विकासमा होस्, चाहे मानव संसाधनका क्षेत्रमा, बुटवलले अगुवाई गरिरहेको छ । विकासका दृष्टिकोणले काठमाडौं उपत्यका बाहिरका अग्रणी सहर मध्येको बुटवल एक हो । नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बाग्लुङ, पर्वतसम्मको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधारको विकास र मानव संशाधनको विकासमा पनि बुटवलले राष्ट्रिय रुपमै नेतृत्व गर्ने क्षमता राख्दछ । देशमा भएका महत्वपूर्ण परिर्वतन र उपलब्धिहरुमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय सभाहल तथा प्रर्दशनी केन्द्र, झण्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानीग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल जस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरको रुपमा उभ्याउने प्रयास गरेका छन् ।

बुटवलले आमनागरिकका आधारभूत आवश्यकता कसरी पूरा गर्दैछ ?
बुटवलले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाइ मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम,बजेट र योजनाहरु अगाडि बढाइएको छ । विकास सँगसँगै नगरको सौन्दर्यीकरण, शहरी व्यवस्थापन र सेवा–सुविधामा सुधार ल्याउनका लागि हामी संघ र प्रदेश सरकारसँग साझेदारी गर्दै अगाडि बढिरहेका छौं । सेवा प्रवाहलाइ जनमुखी बनाउन घरदैलो सेवाहरु सुरु गरेका छौं । बाआमासँग नगरप्रमुख कार्यक्रम मार्फत ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपाङ्गता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण लगायतका कार्यक्रमहरु नागरिकको घरदैलोमै पुर्याइएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउने योजनाहरु अगाडि सारीएको छ । स्वरोजगार सिर्जना गर्दै नगरबासीलाइ आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सीपयुक्त तालिमहरु सञ्चालन भइरहेका छन् । हामीले भौतिक विकासले मात्रै पुग्दैन, मानिसको सर्वांगीण विकास जरुरी छ भन्ने मान्यताका साथ सबैजसो उमेर अवस्थाका बासिन्दालाई लक्षित गरेर कार्यक्रमहरु अगाडि बढाएका छौं ।

गृहिणी र युवालाई स्वरोजगार बनाउने उपमहानगरका कस्ता योजना छन् ?
बुटवलले गृहणी महिला तथा युवाहरुलाइ स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उदेश्यले गृहणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलमजस्ता कार्यक्रममार्फत सीप र रोजगारसँग जोड्दैछौं । हामीले कफी बनाउने सीपदेखि प्लम्बिङ, वायरिङ, कम्प्युटर नेटवर्किङ, कपडा सिलाउने, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउनेजस्ता तालिम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहनेहरुलाई थप प्रोत्साहन गर्ने काम गरिरहेका छौं । यस वर्ष १ हजारजना महिलालाई विभिन्न सीपमार्फत उद्यममा जोड्ने गरी काम भइरहेको छ । बुटवलमा अस्पतालमा चाहिने जनशक्ति उत्पादनका लागि बुटवल उपमहानगरपालिका स्थानीय समितिको संयोजक रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पारामेडिकलको अध्ययन शुरु गरेका छौं । यहाँबाट उत्पादन हुने जनशक्ति बुटवलमै खपत हुनेछ । त्यसका लागि आम्दालाई स्तरोन्नति गरी ३ सय बेडमा पु¥याउँदैछौं । प्राविधिक शिक्षातर्फ कोरियन टेक्निकल इन्स्टिच्युट बुटवलमा तालिम सञ्चालन भइरहेका छन् । बुटवल टेक्निकल इन्स्टिच्युट बीटीआईलाई समयानुकुल बनाउँदै टनेल इन्जिनियरिङजस्ता अहिले माग भइरहेका विषयहरुको अध्ययन शुरु गर्ने गरी तयारी गरेका छौं ।

यहाँलाई थाहा नै छ, परम्परादेखि बुटवल एउटा शैक्षिक हव हो । अहिले यहाँको शैक्षिक अवस्था कस्तो छ ?
बुटवल यसैपनि शिक्षामा अब्बल क्षेत्र हो । माध्यमिक स्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरु छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसईई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । हामीले आन्तरिक श्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे ८ करोड भन्दा बढी बजेट छुटयाएका छौं । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बीएससीएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । विद्यालयको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीको क्षमता विकास गर्न नगर स्तरीय फुटबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिता जस्ता विद्यालय लक्षित प्रतियोगिता सञ्चालन गरिरहेका छौं ।

यहाँको कार्यकालमा बुटवलमा सञ्चालन भइरहेका विशेष कार्यक्रम के–के हुन् ?
स्वास्थ्यमा हामी निर्वाचित भएर आएदेखि विशेष कार्यक्रमहरु सञ्चालन गरेका छौं । टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाइ प्राथमिकतामा राखिएको छ । ६० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रम मार्फत् चिकित्सकसहितको स्वास्थ्य टोली घरमै पुगेर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कार्यक्रम सञ्चालनमा छ । गर्भवती महिलाहरुको जाँच तथा निशुल्क औषधी वितरण,सुत्केरी महिलालाइ १४ दिन भित्रमा तीन पटक स्वास्थ्यकर्मीहरु घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धवद्र्धक जडीबुटी प्रदान गर्ने जस्ता कार्यक्रम सञ्चालित छन् । स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरुलाई प्रोत्साहन स्वरुप दुई हजार रुपैयाँ र एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार पोषण खर्च प्रदान गर्दै आएका छौं । नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल निर्माणाधीन छन् । बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टिकृत अस्पतालका रुपमा स्तरोन्नति गर्न ३ सय बेडमा स्तरोन्नति हुँदैछ । आगामी वर्ष बुटवलमा पीपीपी मोडेलमा १ सय शय्याको अस्पताल स्थापना गर्ने योजनासहित छलफल चलाइरहेका छौं ।

बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र बनाउने भनिएको छ, यसले गति लिन सकेन नि ?
२०१० सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र पर्याप्त नभएपछि डेढदशक अघि मोतिपुर औद्योगिक क्षेत्र स्थापना शुरु भयो । लामो समय विवादमा परेको त्यही मोतीपूर औद्यौगिक क्षेत्र शिलन्यास भएर अलपत्र छ । औद्योगिक क्षेत्रको जग्गा विवादलाई मध्यमार्गी समाधान खोज्न बुटवल उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको छ । जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर मन्त्रालयमा पुगिसकेको छ । संघ सरकारले जुनसुकै बेला पनि यो काम अगाडि बढाउने गरी सहजीकरण भएको छ । बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने काम अगाडि बढेको छ । झण्डै दुइ अर्ब लगानीको यो आयोजना सम्पन्न हुँदा बुटवल मात्रै हैन, लुम्बिनी प्रदेशका तराइ र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने छ भने कृषिजन्य उत्पादन निर्यात समेत गर्न सकिने छ । यहाँ उत्पादन भएका वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्ने योजना छ ।

उपमहानगरले ठूला पूर्वाधार निर्माणमा जोड दिइएको देखिन्छ । तर, तिनको उपयोग कसरी भइरहेको छ ?
बुटवल भौतिक पूर्वाधारमा अगाडि छ । हामीसँग राष्ट्रियस्तरका संरचनाहरु छन् ।अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ । ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेल मैदानहरु बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पतालका नयाँ भवनहरु बन्दैछन् । सपिङ मलहरु, ठूला ठूला तारे होटलहरु सञ्चालनमा छन् भने केही निर्माणका क्रममा छन् । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर पशु बधशाला सञ्चालनमा आउँदैछ । विद्यमान पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टि डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भईसकेको छ । राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक छिट्टै सकिने अपेक्षा छ । बुटवल–नारायणघाट ६ लेन सडक स्तरोन्नति हुँदैछ । बुटवल–चन्द्रौटा सडक पनि ४ लेनमा स्तरोन्नति हुँदैछ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थराजमार्गको मिलन बिन्दु पर्ने बुटवलबाट कुनैपनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ । नगरका अधिकांश भित्री सडकहरु पक्की र फराकिला बनेका छन, केही निर्माणकै चरणमा छन् । बुटवलबाट लामो तथा छोटो दुरीका हरेक क्षेत्रका लागि गाडी छुट्छन् । जसकालागि हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको छ । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्तिको चरणमा रहेको छ । बुटवलको विकासमा सरसफाई र खानेपानी आयोजनाका लागि विश्व बैंक लगायतका ठूला लगानीकर्ताहरु लगानी गर्न इच्छुक देखिएकाले छिट्टै यी आयोजनाहरु पनि अगाडि बढ्ने तर्फ उन्मुख छन् । बुटवलको खानेपानीका लागि २२ बर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना अहिले पनि सुसुप्त अवस्थामा छ । मिनी मेलम्चीसरह बनेको यो आयोजनाको काम छिटो सक्नसंघीय सरकारलाइ पटक पटक ध्यानाकर्षण गराइएको छ । छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरणसहितको गौशाला हालै सञ्चालनमा ल्याइएको छ ।

बुटवलमा पर्यटनको अधिक सम्भावना छ, यसको बिकासलाई कसरी अगाडि बढाउनुभएको छ ?
बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलहरुसँग तीनलाइ जोडेर पर्यटकीय विश्रामस्थलको रुपमा बुटवललाइ विकास गर्ने लक्ष्य छ । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवेशष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाइ मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रबद्र्धनका योजना छन् । बुटवललाइ देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न नगरको सौदर्यीकरण, सरसफाइ, हरियाली र उज्यालो शहर निर्माण अभियान चलाइएको छ । उज्यालो बुटवल कार्यक्रम अन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गर्ने काम अगाडि बढेको छ । बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर जोडने लुम्बिनी केबलकार र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोडने सिद्र्धाथ केवलकारले यो क्षेत्रलाइ अझ चलायमान बनाउने अपेक्षा लिइएको छ । निजी क्षेत्रले पनि आर्थिक केन्द्रको रुपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा तारे होटलहरुमा लगानी गरिरहेका छन् ।

यहाँ चुनावमा नारा दिइए जस्तो स्मार्ट सीटी बनाउन सूचना प्रविधिको प्रयोग कसरी भइरहेको छ ?
कोभिड १९ ले हामीलाई प्रविधिको उपयोग गर्न सिकायो । आर्थिक कारोबार गर्न, बिजुलीबत्ती र पानीको महसुल बुझाउन, रेष्टुरेन्ट, होटलको बिल तिर्न मोबाइलबाटै अभ्यस्त भइसक्यौं । विस्तारै समाज स्मार्ट जीवनशैलीतर्फ अग्रसर भइरहेको छ । तर, हाम्रा सरकारी संयन्त्रहरु अझै पनि स्मार्ट बन्नका लागि पूर्णतः तयार नभइरहेको अवस्था देखिन्छ । सार्वजनिक वित्त व्यवस्थापनमा केही सुधार आइरहेको छ । पैसाको हिसाबकिताब जति छिटो डिजिटल रुपमा हुनथाल्छ, त्यति कम चुहावट हुन्छ । भ्रष्टाचार कम हुन्छ ।यस्तै यस्तै कारणले पनि सरकारी संयन्त्रबाट हुने सबै काम डिजिटल बनाउने योजना हाम्रो छ । अझैपनि राजश्व तिर्न कार्यालयमै आउनुपर्ने अवस्थालाई अन्त्य गर्नुछ । मेरो बुझाईमा सूचना, सञ्चार र प्रविधिको उपयोगमार्फत प्रशासनिक सेवाप्रवाहदेखि सहरको अर्थ व्यवस्था, वातावरण, यातायातलाई चुस्त बनाउनु स्मार्ट सहरका आधारभूत कुरा हुन् । ‘स्मार्ट सिटी’का लागि चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र र संरचना अनिवार्य हुन्छ । हामीले यी कुराहरुमा हरसम्भव प्रयत्न गरिरहेका छौं । प्रशासनिक सेवाप्रवाहलाई व्यवस्थित बनाउन हाम्रा सामाजिक सञ्जाल, वेभसाईट, डिजिटल डिस्प्ले, नागरिक बडापत्रलाई व्यवस्थित गर्दैछौं । एआईको प्रयोग गरी च्याटबट सञ्चालन गरेर जनताका राय लिने, सेवाप्रवाहका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने काम गरिरहेका छौं । बाँकी कामका लागि हामी संघ र प्रदेशसँग समन्वय र सहकार्यकालागि प्रस्ताव गरेका छौं । हाम्रो आन्तरिक श्रोतले मात्रै सबै कुरा सम्भव नहुने भएकाले अत्यावश्यक क्षेत्रमा आन्तरिक श्रोतको उपयोग गर्ने र थप सेवासुविधाका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने हाम्रो नीति छ । उल्लेखित विषयहरुले बुटवललाई बस्नयोग्य सहर बनाउनका लागि भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास हो । बुटवललाई आममानिसको रोजाईको सहर बनाउने, सबैखालका सेवासुविधाहरु सहज र सर्वसुलभ रुपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्नतर्फ हामीहरु लागेका छौं । यसमा बुटवलका बासिन्दा, उद्योगी व्यवसायी, विभिन्न पेशामा संलग्न व्यक्तित्वहरु, कर्मचारी, सामाजिक अगुवा, विकासका अगुवाहरुसहितको सहयोगको खाँचो रहन्छ । हामी सधै सबै पक्षलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेका छौं ।