May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

‘घर-घरमै सेवा पुर्याइरहेका छौं’

Advertisement

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ, रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको बिचार:–

Advertisement

शुद्धोधन गाउँपालिकाले पेपरलेस गाउँपालिका कार्यक्रम अघि बढाएको छ । सुरुमा सबै प्रकारका सिफारिस अनलाइन सेवाबाट सुरु गर्ने तयारीसाथ काम गरेका छौं । त्यसका लागि एसिया फाउण्डेसनले प्राविधिक सहयोग गरेको छ । फाउण्डेसनको सहयोगमा वडाका कर्मचारीलाई ६ महिने प्राविधिक तालिम प्रदान गरिएको छ । प्रत्येक वडामा अनलाइन फारम भर्ने र त्यसका फाइदाका विषयमा सबै नागरिकलाई बुझाउन सक्ने गरी तालिम प्राप्त स्वयंसेवक तयार गरिएको छ । स्वंयसेवकहरु वडाका घरमै पुगेर नागरिकलाई घरमै बसेर मोवाइलबाट सेवा लिन सक्ने गरी बुझाइरहेका छन् ।

गाउँपालिकाको आइटी विभागले पालिकाका सबै नागरिकको पहुँचमा पुग्ने गरी मोवाइल एप तयार गरेको छ । सबै वडामा स्वयंसेवक खटाइएको छ । त्यो बाहेक शुद्धोधन गाउँपालिकाले बहुउद्देश्यीय कृषि तथा पर्यटकीय योजना पनि अघि सारेको छ । पालिका भित्रका सबै सिमसार क्षेत्रमा पोखरी निर्माण गर्ने र त्यसलाई सिंचाई माछापालन र पर्यटकीय गन्तब्य बनाउने गरी काम अघि बढेको छ ।

पालिकाका १, ३ र ६ नं. वडाको नदीले कटान गरेर छोडेको जग्गामा बहुउपयोगी योजना अघि बढाउने निर्णय भएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा काम गर्ने गरी तयार भएको योजनामा सिमसार क्षेत्रमा पोखरी निर्माण गर्ने, पोखरीमा माछा पाल्ने र त्यसमा बढी भएको पानी सिंचाईमा प्रयोग गरिने छ । पोखरीको डिलमा आर्कषण पर्यटक रमाउन सक्ने गरी आर्कषण संरचना निर्माण गर्ने पालिकाको उद्देश्य छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास पनि हाम्रो प्राथमिकता छ । यस्तै, मत्स्य पर्यटनको विकासका लागि लागिपरेका छौं । मेरो कार्यकालमा पालिकालाई समृद्ध बनाउने लक्ष्य छ । हामीले हरेक सेवा अहिले घरघरमै पुर्याइरहेका छौं ।