May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

यसरी कारबाहीमा परे बढी भाडा असुल्ने ट्याक्सी

Advertisement

भैरहवा– तीन दिन अघि भैरहवाको बुद्धचोक, एयरपोर्ट र सिमानाका बेलहियामा केही यात्रु ट्याक्सीको खोजिमा थिए । ट्याक्सीहरु उनीहरुको सम्पर्कमा आए । यात्रुले भनेको गन्तब्यमा पुगेपछि ट्याक्सीवालाले अत्याधिक धेरै भाडा असुले । त्यसको केहीबेरपछि भने ति ट्याक्सीहरु प्रहरीद्वारा पक्राउ परे ।

Advertisement

ट्याक्सीको खोजी गरेका ति यात्रु वास्तवमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले खटाएका व्यक्ति थिए । जो यात्रु बनेर ट्याक्सीले लिने गरेको भाडा बुझ्नका लागि खटिएका थिए । निर्धारित भाडा दर भन्दा धेरै असुलेपछि ति ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘दुई महिना अघि ट्याक्सी व्यवसायी लगायत् सरोकारवाला निकायसहितको छलफलबाट रुपन्देहीमा ट्याक्सीको भाडादर निर्धारण गरिएको थियो’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘भाडादर निर्धारण गरिएको केही दिनपछिबाट ट्याक्सीवालाले धेरै भाडा लिएको गुनासो आउन थालेपछि प्रशासन कार्यालय यो भूमिका गरेर सप्रमाणसहित कारवाहीका लागि अनुगमन गरेको हो ।’

यसरी, तोकिएको भाडादर भन्दा अत्याधिक धेरै भाडा असुल्ने सातजना ट्याक्सी व्यवसायी कारवाहीमा परेका छन् । लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५, लु १ ज ३२६३ नम्बरका ट्याक्सीका व्यवसायी कारवाहीमा परेका हुन् ।

निर्धारित भाडादर भन्दा धेरै भाडा लिन थालेको गुनासो सर्वसाधारणबाट आउन थालेपछि प्रशासन कार्यालयले १५ जना व्यक्तिलाई ट्याक्सी यात्रु (ग्राहक) को रुपमा प्रयोग गरि ५–५ जनाको संख्यामा तीन स्थानमा खटाएको थियो ।

‘निर्धारित भाडादर भन्दा लगभग दोब्बर भाडा असुलेको पाइएपछि ति ट्याक्सीवाला माथि कारवाही गरिएको हो’, अर्यालले भने, ‘यो अनुगमन र कारवाही पहिलो पटक सांकेतिक रुपमा हो । अव कडाइकासाथ निरन्तर हुने छ ।’

रुपन्देहीमा बढी भाडा असुल्ने ट्याक्सीमाथि कारवाही भएको यो पहिलो पटक भएको दावी उनको छ । कारवाहीमा परेका ट्याक्सी व्यवसायीलाई बयान लिएर शुक्रवार थुनामा राखिएको थियो । यस खालको ठगि अव नदोहोरिने लिखित सर्तमा ट्याक्सी व्यवसायी समितिको जिम्मामा शनिवार उनीहरुलाई तारेखमा छाडिएको छ ।

ट्याक्सी व्यवसायी समितिले भाडा निर्धारण भएको सूचना सवै व्यवसायीलाई समयमैं पुर्याउन नसकिएको र एक पटकका लागि पक्राउ परेका व्यवसायीलाई छाडिदिन आग्रह गरेको थियो ।