May 22, 2024, Wednesday
९ जेष्ठ २०८१, बुधबार

सबै श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री महराले भनेका छन्, ‘सन् १९८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । कुनै पनि श्रम सानो वा ठुलो नहुने हुँदा प्रत्येक श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सबै सरोकारवालाको सहकार्यमा प्रदेश सरकारले समेत प्राथमिकता दिनेछ ।’

Advertisement

उनले मजदुर तथा श्रमजीवि वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको स्मरणमा हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं वलिदानको स्मरण गर्दै उनीहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । ‘श्रमिक एवं मजदुर वर्गको विशिष्ट योगदानका कारण संविधान सभाबाट बनेको संविधानमा श्रमिक एवं मजदुर वर्गको हकअधिकार समावेश भएका छन् । संविधान प्रदत्त अधिकारहरुको सारभूत कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयास जारी रहने आशा गरेको छु’, मुख्यमन्त्री महराले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

Advertisement

मुख्यमन्त्रीले विश्वमा विभिन्न कारणले अर्थतन्त्रमा परेको नकरात्मक असरले श्रमिक तथा मजदुर वर्गलाई प्रत्यक्ष असर परेको जनाएका छन् । ‘एकातिर हरेक वर्ष श्रम वजारमा नवप्रवेशीहरुको संख्यामा वृद्धि भइरहेको छ भने अर्कोतिर विज्ञान प्रविधिको विकासले थोरै मानव संशाधनबाट धेरै काम सम्पन्न हुने अवस्था सिर्जना भएको छ । यसबाट श्रम बजार र श्रम संरचनामा परिवर्तन भई रोजगारी प्रणालीमा नै प्रभाव पर्ने स्थितिको सम्बोधन आजको आवश्यकता देखिएको छ’, उनले भनेका छन् ।

मुख्यमन्त्रीले कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनशीलतासँग जोड्दै उपलब्ध स्रोतहरुको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि बहु–शीप तथा बहु–अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो भएको जनाएका छन् । ‘यसका लागि प्रदेश सरकार क्रियाशील रहने छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकलाई समृद्ध बनाउन प्रमुख मेरुदण्ड मानिएको श्रमजीवि वर्गको योगदानले नै प्रदेश सरकारले लिएको ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’को नारालाई साकार गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहान्छु’, उनले भनेका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा लगायतका श्रम अधिकारहरु प्रत्याभूत गर्न सफलता मिलोस् भनि शुभकामना व्यक्त गरेका छन् ।