April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

योजना सुरु गर्ने तर पूरा नगर्ने प्रवृत्ति रोक्न चाहन्छौंः मुख्यमन्त्री महरा

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले अघि बढाएका गौरवका योजनाहरुलाई पूरा गर्ने जनाएका छन् । उनले कसले योजना अघि सार्यो भन्दा पनि काम भयो, भएन ? भन्ने कुरामा विशेष ध्यान दिएर गौरवका योजना समयमै सक्नतर्फ लाग्ने जनाए ।

Advertisement

अर्धाखाँचीको शितगंगा नगरपालिका–३, ठाडामा सोमबार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘विगतका सरकारले अघि बढाएका प्रदेश गौरवका आयोजनालाई वर्तमान सरकारले पूरा गर्नेछ । हामी यसमा निरन्तर लाग्छौं ।’

Advertisement

राजधानी निर्माणलगायत सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइलगायतका क्षेत्रमा थालिएका प्रदेश गौरवका आयोजनालाई गति दिइने उनको प्रतिवद्धता छ । उनले प्रदेशका १२ जिल्लाको राजधानीमा सहज पहुँचका लागि सडक सञ्जालले जोड्ने गरी काम भइरहेको जानकारी दिए ।

‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएका राम्रा र गौरवका आयोजनालाई पूर्णता दिन हामीले ध्यान दिन्छौं,’ उनले भने, ‘योजना सुरु गर्ने तर पूरा नगर्ने प्रवृत्ति रोक्न चाहन्छौं ।’ उनले अब छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिइने र सरकारको कामलाई तिव्रता दिने जनाए ।

यस्तै, मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कार्यसम्पादनलाई तीव्र पार्ने र जनतामा आशा जगाउने बताए । ‘यो सरकारलाई कुनै विलम्ब गर्ने छुट छैन’, उनले भने, ‘जनताका आशा र अपेक्षा अनुसार काम गर्छौं । ढिलासुस्तीलाई रोक्छौ ।’