May 12, 2025, Monday
२०८२ बैशाख २९

लुम्बिनीमा एक हजार २५० जना बने अल्पकालीन भिक्षु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा एकै दिन १ हजार २५० जना श्रामणेर (अल्पकालीन) भिक्षु बनेका छन् । शनिबार लुम्बिनीमा आयोजित विशेष समारोहमा नेपालसहित विभिन्न मुलुकका नागरिक अल्पकालीन भिक्षु बनेका हुन् ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा नियमहरु पालना गर्नुपर्नेछ । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरुको सहआयोजनामा मायादेवी मन्दिर परिसरमा १ हजार २ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

Advertisement

अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयाण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित स्विदेश तथा विदेशका विभिन्न बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् । अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्ने हुन्छ ।

पूर्णरुपमा भिक्षु बन्नका लागि भने बुद्ध धर्मका विभिन्न २ सय २७ वटा नियमहरु पालना गर्नुपर्छ । अल्पकालीन भिक्षु बनेकाले विभिन्न चरण पूरा गर्दै सबै नियम पलना गरे भने पूर्णरुपमा भिक्षु बन्ने छन् ।

फागुन १६ गतेदेखि शुरु भएको प्रवज्यामा लुम्बिनीमै आएर १ हजार २५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन् । शनिबार पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेंलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताए ।

ललितपुरबाट अल्पकालीन भिक्षु बन्न लुम्बिनी आएका १९ वर्षीया अविरल खत्रीले बुद्धजीवनबारे बुझ्न पाउँदा निकै खुशी लागेको बताए । ‘लुम्बिनीमा आएर बुद्धजस्तै भेष धारण गरेर बुद्धबारे बुझ्न र ज्ञान लिन पाउँदा हर्षित छु’, उनले भने, ‘शान्ति ठाउँमा अल्पकालीन भिक्षु् बन्दा त्यसै आनन्द आउँदो रहेछ ।’

रामेछापका खड्गबहादुर आलेमगरले लुम्बिनी जस्तो शान्त, सुन्दर र पवित्र ठाउँमा आएर बुद्धको अनुयायी बन्न पाएकोमा जीवनकै अविष्मरणीय क्षण रहेको सुनाए । ‘पूर्णरुपमा नभए पनि अल्पकालीनरुपमा म बुद्धको अनुयायी भएको छु, यो मेरो लागि खुशीको क्षण हो । खुशीको सीमा छैन’, उनले भने ।

अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १ हजार २५० जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाइएको बताए । उनले चिवर प्राप्त गरेका सबैजनालाई पञ्चशील, अष्टशील र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए । छोटो अवधिमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफूहरुले श्रामणेर बनाउने गरिएको उनले बताए ।

लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्ध धर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले बताए । सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताए ।

प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राईलगायतको उपस्थिति थियो । प्रव्रज्यामा नेपालका २० बढी जिल्लाबाट सहभागिता छ । अल्पकालीन भिक्षु बनेकाहरुले अब आइतबार भिक्षाटन गर्नेछन् । चैत्र ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम र तिलौराकोटाको धर्मयात्रा गर्ने छन् भने चैत ८ गते अल्पकालीन भिक्षुहरुको समय सकिनेछ ।