शिवालयमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
भैरहवा– महाशिवरात्रीको रौनक छ । बिहानैदेखि श्रद्धालु भक्तजनको मुलुकभरका शिवालयमा घुइँचो छ । आज शुक्रबार यस वर्षको शिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले मनाइरहेका छन् । हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहीआएको छ । लुम्बिनी प्रदेशका शिवालयमा पनि बिहानैदेखि पुजाआजा गर्नेको घुइँचो छ ।
खासगरी भैरहवाको बसडिलवा, सिद्धबाबामा रहेको शिवमन्दिर, बोलबमधाम, गुल्मी, प्यूठान, पाल्पा, दाङ, कपिलवस्तुमा रहेका शिवालयमा श्रद्धालु पुजाका लागि पुगिरहेका छन् । कतिपय ठाउँमा बिहानैदेखि लाइनमा बसेर पुजा भइरहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ ।
शिव–पार्वतीको विवाह, महादेवको शिवलिङ्ग स्वरुप र विषपान गरेर संसारलाई संकटबाट बचाएको भन्ने मान्यतासाथ शिवरात्री मनाइन्छ । हिन्दु क्यालेन्डरको प्रत्येक मासको कृष्ण पक्षको चतुर्दशी तिथिलाई शिवरात्रीको रुपमा लिइन्छ । शिवालयमा देखिएको रौनकता छुट्टै आन्नद महसुस भइरहेको श्रद्धालु बताउँछन् । पब्लिक कुराले विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पुगेर पुजाआजा र श्रद्धालुको घुइँचोलाई तस्बीर उतारेको छ ।
प्रतिकृया दिनुहोस्