ढुङ्गा अनि देवता


मूर्तिकारले कुँद्छ अनेक आकृति
काल्पनिक अनि सुन्दर प्रकृति
अक्षता फूलपाती कोही आई चढाउँछ
त्यो ढुङ्गो अब देवता कहलाउँछ
गहिरो आस्थाले पुज्छ कोटीकोटी
निधारले छुन्छ हातपाउ टेकी
भेटी चढाई आशीष माग्छ
त्यो ढुङ्गो अब देवता बन्छ
चारै दिशामा पर्खाल ठड्याई
धूरीमा सुनको गजुर टल्काई
मन्दिरभित्र कैद हुन्छ
त्यो ढुङ्गो अब देवता बन्छ
साँझ बिहान आरति गरी
धुप नैवेद्मका वासना छरी
शंख घण्टका धुन गुञ्जन्छ
त्यो ढुङ्गो अब देवता बन्छ
गाउँघरदेखि शहरसम्मै
फैलन्छ महिमा यसको अचम्मै
भाकल बोकी भक्तजन धाउँछन्
यसरी ढुङ्गोलाई देवता बनाउँछन् । -sahityapost








प्रतिकृया दिनुहोस्