May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

घरेलु हिंसाकाबारेमा प्रहरीलाई सूचना दिनुस् एसपी बिक

भैरहवा– घरेलु हिंसा रोकथामका लागि नजिकको प्रहरी इकाइमा उजुरी तथा जानकारी दिन रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले सर्वसाधारण सबैलाई आग्रह गरेका छन् । घरेलु हिंसाको परिणाम अन्तिममा आत्महत्यासम्म पुग्ने गरेकाले यसको समस्याको पहिचान समयमैं गरि नियन्त्रणका लागि पहल गरेमा आत्महत्याबाट धेरै हदसम्म बचाउन सकिने उनले बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित प्रहरी चौकी मेउडिहवामा आयोजना गरेको घरेलु हिंसा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी बिकले घरेलु हिंसा र आत्महत्याले परिवारसँगै समाजमा नकारात्मक असर पार्ने गरेको बताए ।

Advertisement

‘रुपन्देहीमा घरेलु हिंसा र आत्महत्याको समस्या जटिल छ’, उनले भने, ‘यस वारेमा कुनै पनि जानकारी जो कोहीसंग छ भने जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी युनिटमा उजुरी तथा जानकारी दिनुस् ।’ यस वारेमा उजुरी वा जानकारी प्राप्त भएपछि प्रहरीले सुरक्षाको व्यवस्था मिलाइदिने, आवश्यक परेमा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने, मेलमिलाप गराउने र कानुनी उपचारसम्मको प्रकृयामा अघि बढेर पीडितलाई न्याय दिलाइने भनाइ उनको थियो ।

उनका अनुसार, प्रत्येक वर्ष आत्महत्याका घटनामा वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको हालसम्म रुपन्देहीमा १९ जनाले आत्महत्या गरेका छन् । घरेलु हिंसा पहिला महिलामाथि मात्र हुने गरेकोमा पछिल्ला दिनमा हिंसाको स्वरुप बदलिँदै जान थालेको छ । तथापी अधिकांश घरेलु हिंसा आफन्त र नजिकको नातेदारबाटै हुने गरेका घटना छन् ।

अधिकांश घरेलु हिंसा वैवाहिक, दाइजो, सन्तानको जन्म, शारीरिक तथा यौनजन्य क्रियाकलाप जस्ता बिषयमा हुने गरेका छन् । घरेलु हिसांका कारण अधिकांश पीडित मानसिक तनावमा परेर आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए । ‘घरमा कोही मानसिक बिरामी छन् भने त्यसबारेमा सकेसम्म घरमैं लुकाएर राख्ने तर बाहिर कुरा नल्याउने सामाजिक प्रचलन यद्यपी छ’, बिकले भने, ‘यस्ता कुरालाई परिवारको इज्जतको प्रतिष्ठासंग नजोडेर समाजमा खुलेर कुरा राख्न जरुरी छ । यस्ता बिषयमा छलफल गर्न जरुरी छ ।’

रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले समाजलाई शान्त, व्यवस्थित र मर्यादित गराउन प्रहरीको एक्लो प्रयाशलेमात्र सम्भव नहुने भएकाले समुदायका सबै व्यक्तित्वको उत्तिकै भूमिका महत्वपूर्ण हुने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले पछिल्लो समय समाजमा विकृति बढिरहँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घरेलु हिंसा र आत्महत्याका घटना न्यूनीकरणका लागि समाजमा सर्वसाधारण समक्ष प्रत्यक्ष साक्षत्कार गरेर राम्रो कार्यक्रमको थालनी गरेको बताए ।

सिद्धार्थनगर–१ का वडाध्यक्ष उज्जवल पोखरेलले घरेलु हिंसा न्यूनीकरणका लागि आफैबाट सुरु गरेर कतै मबाट घरेलु हिंसा हुन पुगेको त छैन ? भनेर बिचार गर्न जरुरी भएको बताए । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले आफूलाई शासक भन्दा सेवकको रुपमा बुझेर अघि बढे समाज रुपान्तरणमा टेवा पुग्ने बताए । उनले जिल्ला प्रहरी कार्यालयले यस्ता कार्यक्रमहरु सम्पूर्ण प्रहरी युनिटहरुमा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी चौकी मेउडिहवाका प्रमुख सहायक प्रहरी निरीक्षक राजकुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । प्रहरी चौकीलाई व्यवस्थित गरी नागरिकलाई अझ प्रभावकारी रुपमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्षेत्रीलाई सम्मान गरिएको हो ।