May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनीमा संचालित मोन्लम पुजामा हलिउड सुपरस्टार जेट ली

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मोन्लम अर्थात् विश्व शान्ति पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड सुपरस्टार जेट ली पनि सहभागी भएका छन् । बिहीबारदेखि लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पाँच दिवसीय मोन्लम पुजा सुरु भएको छ ।

Advertisement

मोन्लममा पाँच सय बढी रिम्पोछे, लामा, आनीहरु एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान भएको छ । जेट ली पनि बिहानैदेखि साँझसम्म पुजामा सहभागी भएर पाठ गरिरहेका छन् ।

Advertisement

सन् १९६३ अप्रिल २६ मा चीनको बेजिङमा जन्मिएका हुन् । अभिनेता, मार्शल आर्टिस्ट तथा चलचित्र–निर्माता र हलिउड सुपरस्टार समेत रहेका उनी सयौं फिल्म खेलेका छन् । कुनै समय उनका चर्चित फिल्मले हलिउडमा चहलपहल नै ल्याएको थियो । जेट ली मोन्लम पुजामा सहभागी हुन आफ्ना सहयोगी सहित लुम्बिनी आएका छन् ।

उनी अहिले पनि फिल्म क्षेत्रमा सक्रिय छन् । लुम्बिनीबाट विश्व शान्तिको कामना गर्ने र सन्देश दिने उद्देश्यसहित महायानी परम्परा अनुसार मोन्लम पुजा सुरु भएको छ । जेट लीको सहभागिताले विश्व पर्यटन बजारमा थप सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी आएका जेट ली लाई विकास कोषका प्रशासकीय प्रमुख ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिकता, विकास र पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले जेट लीको सहभागिताले मोन्लम पुजाको सान्दर्भिकता र औचित्यलाई थप पुष्टि गरेको जनाए ।

‘विश्व प्रख्यात सुपरस्टारको सहभागिताले यो पुजा अन्तर्राष्ट्रियकरण भएको छ । लुम्बिनीको आध्यात्मिकता र प्रचारप्रसार अझै हुने निश्चित छ’, उनले भने । नियमित मोन्लम पुजामा सहभागी भइरहेका जेट ली पाँच दिन नै लुम्बिनीमा रहनेछन् । यहाँ रहँदा उनले लुम्बिनीमा रहेका विभिन्न गुम्बाहरुको अवलोकन गर्ने र पुजाआजामा सहभागी हुने छन् । पुजामा सहभागी जेट लीले भने कुनै प्रतिक्रिया दिन खोजेनन् ।