May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनीमा ‘दियो सेड’ संचालनमा, उद्घाटनकै दिन सवा तीन लाख आम्दानी

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा ‘दियो सेड’ सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले उक्त सेड संचालनमा ल्याएको हो । कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी सेड निर्माण गरेको थियो । कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा.ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको उद्घाटन गरिएको हो ।

Advertisement

उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरेका हुन् । उद्घाटनपछि उपाध्यक्ष डा.लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए ।

Advertisement

‘दियो बाल्ने अठोटसहित दियो बाल्ने सेड बनाइएको हो, अझै चार वटा यस्तै सेड बनाउने योजना छ’, उनले भने, ‘व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ ।’ उपाध्यक्ष डा.लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताए ।

बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भए पनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष डा.लामाको भनाई छ । डा.लामाका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ ।

महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरीक आम्दानी समेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

उद्घाटन लगतै उपाध्यक्ष डा.लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गरेका छन् । पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।