May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्दैनः पौडेल

भैरहवा– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् ।

Advertisement

उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिइरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिइरहेको दाबी गरे।

Advertisement

उनले भने, ‘मुलुक आगामी १६ औँ योजना निर्माणको चरणमा छ । १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्छ भनेर आशा गर्न सक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औँ योजना धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ । नेपालको योजनाबद्ध विकासमा डिपार्चर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थ्रू गरेको थियो ।’

योजना आयोग १५ औँ योजनाका सकारात्मक योगदानहरूलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औँ योजनाले राष्ट्रिय दीर्घकालीन र आवधिक लक्ष्य निश्चित गर्ने गरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले योजना आयोगको १६ औँ योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गरे । उनले १६ औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रूपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

योजना आयोग १५ औँ योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औँ योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । उनले १५ औँ योजनाले अघि सारेका योजनाहरूलाई निरन्तरता दिँदै थप आवश्यकताहरूलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताए । उनले सरकारले १५ औँ योजनाप्रति पूर्वाग्रह राखेर १६ औँ योजना बनाउन नहुने जिकिर गरे ।