May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

दुई मोटरसाइकल ठोक्किँदा रूपन्देहीमा दुई जनाको मृत्यु

भैरहवा– दुई मोटरसाइकल ठोक्किँदा रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–३, महिलवार–पडरिया सडक खण्डको लंकापुरमा आइतबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ता छन् । बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए ।

घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । यादव लु५८प २७२८ नम्बरको तथा गुप्ता युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकलमा सवार थिए । दुवैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा ल्याइएको छ ।

Advertisement