May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री कपः आर्मीलाई १३ रनले पराजित गर्दै पुलिसको लगातार तेस्रो जित

भैरहवा– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ । आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो । योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ ।

Advertisement

पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो । इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे । त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए । सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे ।

Advertisement

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए । भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी पारी खेले । कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाएर २२औं ओभरमा पेभेलियन फर्किए ।

भीम पनि २६औं ओभरमा आउट भए । उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टिमले जित निकाल्न सकेन । त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शुन्य र दुई रनमा आउट हुँदा आर्मी अप्ठ्यारोमा पर्दै गयो । आर्मीका कप्तान विनोद भण्डारी पनि धेरै समय क्रिजमा टिक्न सकेनन् । उनलाई ललित राजबंशीले १९ रनमा आउट गरे ।

सोमपाल कामी पनि तीन रन बनाएर राशिद खानको शिकार भए । यस्तै, रसिद खानले नै अन्तिम ओभरमा शाहब आलमलाई आउट गरेर पुलिसको जित सुनिश्चित गरे । बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिन सफल भए । सागरले सात ओभरमा दुई मेर्डनसहित १४ रन मात्र दिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

त्यसअघि आर्मीका तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लबले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।

आर्मीको जस्तै पुलिसको सुरुवात पनि खराब थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भएर आउट भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट हुँदा त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औं ओभरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । ओपनर सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी १३ रन जोड्दा रन आउट भए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने । त्यसपछि करण केसी १० रनमा शाहब आलमको बलमा बोल्ड भए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहबकै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नटआउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेर्डनसहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए । पुलिसका सागर ढकाल प्लेयर अफ द म्याच भए । तीन खेलमा जित हात पार्दै पुलिस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलबाट चार अंक जोडेर छैटौं स्थानमा छ ।