May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बर्दिया राष्ट्रिय निकुञ्जका सात गैँडा भारतीय वनतर्फ

बर्दिया– यहाँस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका गैंडा भारतीय जंगलतिर गएको आशंका गरिएको छ । निकुञ्जमा गणना अनुसारका गैंँडा नदेखिएपछि भारतीय भूमितिर गएको आंशका गरिएको हो । निकुञ्जले सात वटा गैँडा सीमावर्ती भारतीय कतरनियाघाट वन्यजन्तु स्यांक्चुरीमा पुगेको अनुमान गरेको छ ।

Advertisement

सन् २०२२ को गणनामा बर्दिया निकुञ्जमा ३८ वटा गैंडा थिए । पछिल्लो समय पूर्ण गैँडा निकुञ्जमा देखिएका छैनन् । भारतीय भूमिमा गएको आशंका गरिएका ७ मध्ये तीन वटा मात्र स्यांक्चुरीमा रहेको भारतीय वनका कर्मचारीले बर्दिया निकुञ्ज, ठाकुरद्वारालाई बताएका छन् । अन्य चार वटा गैंडा बर्दिया निकुञ्जमा भेटिएका छैनन् भने भारतीय भूमिमा पनि देखिएका छैनन् ।

Advertisement

बर्दिया निकुञ्ज हुदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पिउने पानीको समस्याले भारतीय स्यांक्चुरीमा पुगेको आशंका गरिएको छ । निकुञ्जमा गणना भएका ३८ मध्ये तीन वटा गैंडा केटाको बाघ र प्राकृतिक कारणले मृत्यु भइसकेको छ । निकुञ्जमा अहिले ३५ गैँडा छन् । तर, त्यसमध्ये ७ गैँडा भारततिर गएको बताइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँग भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पर्दछ । खाता जैविकमार्गबाट हात्ती, बाघ, गैंडालगायतका वन्यजन्तु ओहोरदोहोर गर्छन् । भारतीय आरक्षमा पुगेका वन्यजन्तु गैंडा फर्कन पाउँदैनन् । बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामले हराइरहेका तीन वटा भारतको कतरनिया स्यांक्चुरीको जंगलमा रहेको जानकारी भारतीय वन अधिकारीले दिएको तर अन्य चार गैँडा सम्पर्कमा नभएको बताए ।

‘हामीले खोजी जारी राखेका छौं, बर्दिया निकुञ्जको घना जंगलको झाँडीमा अन्य गैंडा हुन सक्ने अनुमान छ, यद्यपि यसबारे सोधखोज गरिरहेका छौं’, उनले भने, ‘गेरुवामा पानीको अभाव भएकाले अन्यत्र पनि गएको हुन सक्ने आशंका छ । निकुञ्जले विशेष ध्यान दिएर बुझिरहेको छ ।’ उनले विभिन्न क्षेत्रमा निकुञ्जले खोजी कार्य जारी राखेको बताए ।