May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

लुम्बिनीमा विषयगत समिति सभापति चयन कहिले ?

दाङ– लामो रस्साकस्सी पछि लुम्बिनी प्रदेशमा विषयगत समिति सभापति चयनका लागि मिति तोकियो । तर, तोकिएको मितिमा निर्वाचन हुन सकेन । प्रदेशसभा सचिवालयले सभामुख तुलाराम घर्तीमगरको निर्देशनमा भन्दै निर्वाचन स्थगित गर्यो । त्यसयता मिति अझै तोकिएको छैन ।

Advertisement

प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी गरिएको थियो । तर, अझै मिति तोक्न नसक्दा अन्यौलता छाएको छ । आउने हप्ताभित्रै निर्वाचन गर्ने गरी लुम्बिनी प्रदेश सभाले आन्तरिक गृहकार्य गरेको छ । यद्यपि दलहरुबीच सहमती गर्ने भनेर मिति तोक्नमा ढिलाइ भइरहेको प्रदेशसभा सचिवालयका एक सदस्यले जनाए ।

Advertisement

सभामुख तुलाराम घर्तीमगरले ढिलोमा आउने हप्ता भित्र सभापति चयन टुंगिने जनाए । ‘हामीले निर्वाचनको सबै तयारी गरेका छौं’, उनले भने, ‘जहाँसम्म लाग्छ, दलहरुबीच सहमति भएमा छिटो निर्वाचन गरेर सभापति चयन गर्ने हो ।’ उनले प्रदेशसभाका तर्फबाट कुनै ढिलाई नहुने स्पष्ट पारे ।

प्रदेश सभाका विषयगत समितिको निर्वाचन अन्तिम समयमा दलहरूको आग्रहमा सभामुख तुलाराम घर्तीमगरले पुस १५ गते एक सूचना निकालेर अनिश्चितकालका लागि सारेका थिए । सभामुख घर्तीमगरले पुसको २५–२६ गते विषयगत समितिको सभापति पदका लागि निर्वाचन गर्ने मनसाय बनाए पनि दलहरूको गृहकार्य नपुगेकाले माघको पहिलो हप्ता गर्ने योजना बनाइएको थियो । तर, अझै पछि धकेलिने देखिन्छ ।

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापति भागबण्डामा चयन गर्ने तयारी गर्दै लुम्बिनी प्रदेश सभाले पुस १६ गते सभापतिको मनोनयन र १७ गते निर्वाचन गर्ने कार्य योजना सार्वजनिक गरेको थियो ।

तर मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसभित्र असन्तुष्टि भएपछि केही समयका लागि सभापतिको बाँडफाँटको विषयलाई सारिएको नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले जनाए । माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्रीको आग्रहमा मिति सारिएको र दलहरूबीच अहिलेसम्म नयाँ मितिका बारेमा छलफल नभएको जनाए । ‘सभापतिका लागि भागबन्डा करिब मिलेको छ, केवल कुन व्यक्तिलाई सभापति दिने भन्ने हो । तर त्यसका लागि अहिले कुनै छलफल भएको छैन ।’

लुम्बिनीमा प्रदेशमा ६ वटा विषयगत समितिका अतिरिक्त एउटा विशेष अधिकार समिति छ । त्यसमा एमालेलाई दुई, माओवादीलाई विशेष अधिकार समिति र एउटा विषयगत समिति, नेपाली कांग्रेसलाई २ वटा समितिको सभापति दिने र एउटा समितिको सभापति साना दललाई दिने मोटामोटी सहमति भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले दलहरूबीच समितिका सभापति भागबण्डाबारे अनौपचारिक कुराकानी भइरहेको तर औपचारिक बैठक बसेर मिति टुङ्ग्याउन बाँकी रहेको जनाए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले पनि केही दिनभित्र सत्ता गठबन्धन दलहरूको बैठक बस्ने जनाइन् । उक्त बैठकबाट सभापतिको चयनको मिति र अरू भागबण्डा टुङ्ग्याउने उनको भनाई छ ।

समितिका सभापति चयन गर्नका लागि प्रतिपक्ष एमालेलाई पनि सहमतिमै लिएर अघि बढ्ने सोच सत्ता गठबन्धनको छ । यसैले पनि दलहरुले केही ढिलाइ गरेको जनाएका छन् ।