May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

संघीयता सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्छः सभामुख घर्तीमगर

कपिलवस्तु– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अप्ठ्यारो पर्न नदिइने बताएका छन् । उनले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउँदै कानुन बनाउने ठुलो कुरा नभएको तर कार्यान्वयनमा जोड दिन जरुरी रहेको जनाए । कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको उनले भनाइ छ ।

Advertisement

कपिलवस्तुको शिवपुरमा प्रदेश सभा सचिवालयले आयोजना गरेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभामुख घर्ती मगरले संघीयतालाई सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नु पर्नेमा जोड दिए । सभामुख घर्ती मगरले भने, ‘संघीयतामाथि जबर्जस्त प्रश्न उठाइएको छ । त्यसको जवाफ दिन पनि स्थानीय तह कानुन निर्माण र कार्यान्वयनमा अब्बल हुनुपर्छ ।’

Advertisement

सभामुख घर्ती मगरले संविधानले स्थानीय तहलाई कानुन निर्माण, प्रमाणिकरण र कार्यान्वयनको अधिकार दिएकाले कानुन निर्माणमा समेत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु अब्बल हुनुपर्ने बताए । प्रदेश सभाको काम कानुन बनाउने, बजेट पारित गर्ने, सरकार बनाउने र सरकारको काम कारबाहीको निगरानी गर्ने समेत रहेकाले सरकारलाई जवाफदेही बनाइने उनले बताए । उनले स्थानीय तहमा कर्मचारी ब्यवस्थापनको लागि हिउँदे अधिबेशनमा स्थानीय सेवा बिधेयक सभामा पेश गर्ने गरि काम अघि बढाइएको जनाए ।

उपसभामुख मेनुका खाँण केसीले प्रदेशबासीलाई दिइने सेवालाई स्थानीय तह अधिकार सम्पन्न निकाय भएको र पालिकाकाले निर्माण गर्ने कानुनले प्रत्यक्ष प्रभाव पार्ने भएकाले कानुन निर्माणमा ध्यान दिनुपर्ने बताइन् । प्रदेश सभा सदस्य अर्जुन केसीले कानुन निर्माणमा ध्यान नदिँदा पछी पछुताउनु पर्ने अवस्था आउने भएकाले कानुन निर्माणको चरणमा विवेक पुर्याउनु पर्ने बताए । वन ऐनमा जटिलता खुलाउन र नदिजन्य पदार्थको उत्खननमा स्थानीय तहलाई पूर्ण अधिकार दिने गरि ऐन बनाउन जरुरी रहेको उनको भनाई छ ।

पूर्ब मन्त्री एवं प्रदेश सभा सदस्य जानकीप्रसाद यादवले स्थानीय तहले अधिकारको सही प्रयोग गरि ऐन, कानुन निर्माण गर्दा स्थानीय तह अझै बलियो हुने बताए । कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताव शाहले कानुन कार्यान्वयनमा आउने जटिलतामा सहजीकरण गरिदिन आग्रह गरे । शिबराज नगरपालिकाका प्रमुख अजय थापाले बिकास निर्माणमा पनि प्रदेशले समन्वय र सहकार्य गर्नु पर्ने बताए ।

बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले कानुन निर्माणमा सहजीकरण गरिदिन कानुनी अधिकृतसहित दक्ष जनशक्तिको ब्यवस्था गर्न आग्रह गरे । उनले प्रदेश सरकारले स्थानीय तहमा लागु गरेका योजनाहरु समन्वयको अभावमा अधुरो र अपुरो रहेको दुखेसो गरे । कार्यक्रममा वडा अध्यक्षहरुले जल, जंगल, जमिनको अधिकारको पूर्ण स्वामित्व स्थानीय तहलाई दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्थानीय तहले बनाएको कानुन पक्षीणमा प्रदेश सभाले सहजीकरण गरिदिनु पर्ने माग गरे । बिजयनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिहर बेल्बासेले स्थानीय तहमा कार्यरत कर्मचारी सम्बन्धि ऐन नबन्दा कर्मचारीको वृत्तिबिकासमै समस्या आएको गुनासो पोखे ।