May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

छाडा गाइगोरु नियन्त्रण गर्न सिद्धार्थनगरमा दोस्रोपटक अभियान संचालन

भैरहवा– छाडा गाइगोरुको समस्या नगरमा बिकराल बनेपछि सिद्धार्थनगर नगरपालिकाले गत बर्ष नियनत्रणका लागि अभियान संचालन गर्यो । छाडा गाइगोरु र यसबाट सृजित समस्या नगरमा लगभग शुन्य नै रह्यो । फेरि छाडा गाइगोरु नगरमा देखा पर्न थालका छन् । नगरपालिकाले पनि नियन्त्रणका लागि दोस्रोपटक पनि अभियान संचालन गरेको छ ।

Advertisement

‘गत बर्षसम्म नगरमा छाडा गाइगोरुको आतंक र यसबाट सृजित समस्याले नगरवासी पीडित थिए । यसको समस्या समाधान गर्न नसकेको भन्दै जताततै नगरपालिकाको आलोचना भएपछि नियन्त्रणका लागि अभियानको थालनी गरेका थियौं’, नगरपालिकाको छाडा चौपाया व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेले भने, ‘यो समस्या पुनराबृत्ति हुन थालेकाले दुई दिनदेखि गत बर्षमा जस्तै अभियान चलाएका छौं ।’

Advertisement

नगरमा छाडा अवस्थामा फेला पारिएका गाइगोरुलाई धमाधम नियन्त्रणमा लिन थालिएको छ । नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोक नजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको छ । होल्डिङ सेन्टरमा गाइगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरि घाँस, पराल खुवाएर राखिएको छ । यसका लागि नगरपालिकाले आफ्ना कर्मचारी र अन्य थप जनशक्तिको परिचालन गरेको छ ।

‘दुई दिन भित्रमा सम्बन्धित चौपायाका धनि आएर नसकारेमा होल्डिङ सेन्टरमा राखिएका ति गाइगोरुलाई ट्रकमा लोड गरि विभिन्न गौसंरक्षण तथा अनुशन्धान केन्द्रमा लगेर व्यवस्थापन गरिने छ’, घिमिरेले भने, ‘गाइगोरु सकार्न आउने सम्बन्धित धनिलाई ५ देखि ७ हजार जरिवाना तिराउने गरिएको छ ।’

उनका अनुसार, दुई दिनमैं होल्डिङ सेन्टरमा ४५ वटा गाइगोरु जम्मा भैसकेका छन् । छाडा छाडिनेमा दुध दिने गाइ पनि छन् । जम्मा गर्ने क्रम जारी छ । गत बर्ष नगरमा यसरी नै १ सय ७० वटा छाडा गाइगोरुलाई नियन्त्रणमा लिइ व्यवस्थापन गरिएको थियो ।

छाडा गाइगोरुको कारण राजमार्ग र नगरका भित्रि सडक जताततै कुरुप दिखिन्थे । मलमुत्रको फोहरले नगर दुर्गन्धित बनेको थियो । राजमार्ग र भित्रि सडकमा हुने दुर्घटनाले कैयन् मानिको ज्यान गयो । कैयन घाइते भए । गाडीको ठक्करले गाइगोरुकै मर्ने गरेका छन् । कैयन् घाइते हुने गर्छन् । खेतीवाली खाइदिने गरेको गुनासो किसानले गर्ने गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाइगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशिल भएर लागेको बताए । ‘नियन्त्रण तथा व्यवस्थापन गर्न सहज छैन’, उनले भने, ‘कतिपय मानिस किन मेरो गाइगोरुलाई छोपेको ? भन्दै नगरपालिकामा आएर झगडा गर्ने गर्छन् ।’ उनको भनाइमा सिद्धार्थनगर नगपालिकासँग जोडिएका अन्य पालिका र सिमापारी भारतबाट समेत छाडा गाइगोरु आउने गर्नाले नगरमा बर्षेनि समस्या दोहरिने गरेको हो ।