May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

एकीकृत समाजवादीका नेता गुरुङले गरे पार्टी परित्याग

बुटवल– लामो समयदेखि पार्टीमा निस्क्रिय रहँदै आएका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का रुपन्देहीका नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। यद्यपि उनले पार्टी परित्याग गर्नुको कारण भने उल्लेख गरेका छैनन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएपछि समाजवादीमा सुरुदेखि नै क्रियाशील थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए। तर, निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

त्यसपछि पार्टीमा केही समय सक्रिय उनले ६ महिना अघिदेखि भने कुनै गतिविधिमा संलग्न थिएनन् । उनलाई पार्टीमै फिर्ता ल्याउन नेताहरु लागेका थिए । राष्ट्रिय सभामा टिकट पाए समाजवादीमै फर्किने आसय व्यक्त गर्दै आएका उनले टिकट नपाए पछि पार्टी परित्याग गरेको समाजवादीका एक नेताले बताए ।

Advertisement