चिसो बढेपछि रोहिणी र मर्चवारीका विद्यालय बन्द


भैरहवा– यतिबेला तराई चिसो दैनिक बढ्दो छ । चिसोले जनजीवन प्रभावित भइरहेको छ । यस्तोबेला विद्यार्थीहरु समेत प्रभावित भइरहेका छन् । अत्यधिक जाडो बढेपछि रुपन्देहीका दुई पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।
जिल्लाको मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकाले विद्यालय बन्द गरेका हुन् । सूचना जारी गर्दै मर्चवारीले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामुदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गयाप्रसाद बरईले जानकारी दिए ।
यता रोहिणी गाउँपालिकामा पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द गरिएको छ । ‘पछिल्लो समय बढी रहेको चिसोले विद्यार्थी प्रभावित भएका छन्, विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने भइरहेको अभिभावकको गुनासो थियो, त्यसैले केही दिनका लागि विद्यालय बन्द गरेका हौं’, रोहिणी अध्यक्ष विद्याप्रसाद बरईले भने ।
दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर विद्यालयहरु बन्द गरिएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ । वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा विदा दिइएको हो ।
प्रतिकृया दिनुहोस्