May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

चिसो ह्वात्तै बढ्यो, जोगिन चिकित्सकको सुझाव

भैरहवा– तराईमा चिसो ह्वात्तै बढेको छ । आइतबार बिहानदेखि हुस्सु लागेको छ । तराईका कतिपय ठाउँमा शीतलहर समेत चलेको छ । भैरहवा लगायत आसपासमा अत्यधिक चिसो छ । चिकित्सकहरुले चिसोमा खासगरी बृद्धबृद्धा र बालबालिकाको विशेष ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै, साँझाबिहान आगो ताप्न, तातो र झोलिलो पदार्थ खान सुझाएका छन् ।

Advertisement

जिल्ला विपत् व्यवस्थापन समिति, रुपन्देहीको शनिबार भैरहवामा बसेको बैठकले पछिल्लो समय चिसो बढ्दै गइरहेको जनाउँदै गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई ध्यानमा दिने, राहत र उद्धारका कार्यलाई दु्रतरुपमा अघि बढाउने निर्णय गरेको छ । प्रमुख जिल्ल अधिकारी गणेश अर्यालले विभिन्न संघसंस्थाहरुको समन्वयमा न्यानो कपडा वितरण र उद्धार कार्यलाई चुस्त पारिने जनाए ।

Advertisement

जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थाल्छन्। विषेशतः गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ। जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकी मात्रै होइन योसँगै एलर्जी पनि हुन्छ। रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ।

साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ। भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालय जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ। साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ। तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ। किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।

दिनदिनै चिसो बढ्दै छ। चिसो बढ्दा सबैभन्दा बढी सास्ती रोगी, बुढाबूढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ। श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण वातावरण प्रदूषण, चुरोट–बिंडीको अधिकतम सेवन, चिसो जस्ता मुख्य कारण रहेको छ। साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाइ छ। श्वासप्रश्वास सम्बन्धी रोगहरु दम, ब्रोङकाइटिस, निमोनिया, सिओपिडी आदि हुन्।

यस्ता समस्याबाट बँच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढै बस्ने उचित हुन्छ। साथै धुँवा, धुलोमा सकभर नहिंड्न तथा हिंड्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ। समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेसी मरेर जान्छ। यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ।

हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो। हार्डवर्ड मेडिकल स्कुलका अनुसार चिसोले रागतका नसा खुम्चने तथा साँघुरो हुने गर्छ जसले गर्दा हृदयाघातको जोखिमलाई बढाउँछ। हृदयाघातबाट बच्न चिसोबाट बच्ने, तौल नियन्त्रण गर्ने, चिल्लो(बोसो भएको खानेकुरा नखाने, नियमित शरीरिक व्यायाम गर्नुपर्छ।

चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ। तर, कतैबाट हावा नै नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् वा मृत्यु नै पनि हुन सक्छ। जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो। त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ।

जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ। चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए हुन्थ्यो जस्तो लाग्छ। बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ। तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ। जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्।

चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ। तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ। मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ।

जाडोमा कसरी स्वस्थ रहने ?
– न्यानो कपडा लगाउनुपर्छ।टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन। विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।

– बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ।पर्याप्त तातोपानी पिउन आवश्यक छ। चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं।जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ।

– चिसोमा सारुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउनुपर्छ। चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ।यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ।

– जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्छ। यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ।

– मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन। बिहान(बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ।

– स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ। फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

– शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ। साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ।चिसोले छालालाई सोसेर सुख्खा बनाइदिन्छ।

– कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्र शरीरलाई रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

– जाडोको समयमा जाडो भुल्न धूमपान तथा मध्यपान गर्ने चलन छ। यी पक्षले कुनै पनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। स्मोकिङले फोक्सो बिगार्ने र मदिराले कलेजो लगायतका अंगलाई बिगार्ने काम गर्छ।

– जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ। त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।