May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

श्रीलंकाका राजदुतलाई लुम्बिनीमा स्वागत, गाैतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्न पहल गर्ने प्रतिबद्धता

लुम्बिनी-  लुम्बिनी भ्रमणमा आएकानेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानालाई शनिबार लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामाले राजदुत पाथिरानालाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन् ।

Advertisement

उपाध्यक्ष डा. लामाले राजदुत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवास्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकन एयरलाइन्स मार्फत उडान सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैहवमा रहेकाे गाैतमबुद्ध विमानस्थलमा सिधा उडान गर्दा बुद्ध जन्मस्थल लुम्बिनी आउन निकै सहज हुने बताए ।

Advertisement

लामाले लुम्बिनीकाे विकास र ऐतिहासिकता बारे समेत जानकारी गराएका थिए ।


श्रीलंकामा एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदुत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले बुद्ध जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए ।


उक्त अवसरमा राजदुत पाथिराना र उपाध्यक्ष डा. लामाबीच लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्बर्द्धनका बिषयमा सहकार्यका लागि समेत छलफल भएको छ ।

राजदुत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदुत पाथिरानालाई लुम्बिनीको महत्व, यसको पछिल्ला विकास लगायतका बिषयमा जानकारी गराए ।

राजदुत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भिम बस्नेतले समेत स्वागत गरेका थिए । राजदुत पाथिरानाले लुम्बिनीसँगै भैरहवास्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।