पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन


भैरहवा– पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व एमाले नेता डा.रामप्रसाद बस्याल संयोजक रहेको अभिनन्दन समितिले पूर्वराजा शाहलाई अभिनन्दन गरेको हो । यस्तै, आधा दर्जन विभिन्न संघसंस्थाले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।
गत पुस ८ गते भैरहवा आइपुगेका पूर्वराजा शाहलाई यसअघि कपिलवस्तुको चन्द्रौटा र पश्चिम नवलपरासीमा समेत नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी शाह, छोरी प्रेरणा सहभागी भएका थिए ।
अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वःतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा.बस्यालले जनताले पूर्वराजालाई मुलुकको अभिभावकको रुपमा हेर्न चाहेको उल्लेख गरे । ‘राजाले नै मुलुकको विकास र अस्तित्व रक्षा गर्न सक्नुहुन्छ’, उनले भने, ‘त्यसैले मुलुकको नेतृत्वमा आउन आम नागरिकको तर्फबाट म आग्रह गर्दछु ।’
पूर्व एमाले नेतृ एवं सांसद गंगा चौधरीले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबी गरिन् । ‘मैले विगतमा नबुझेर राजसंस्थाविरुद्ध बोले हुँला तर बुझ्नै जाँदा राजसंस्था नै चाहिने रहेछ, त्यसैले म यहाँ आएकी हुँ’, उनले भनिन्, ‘मुलुक बनाउन राजा नै चाहिन्छ ।’

कार्यक्रममा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्वमन्त्री तथा राप्रपा नेता निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनःस्थापना गरी देशको नेतृत्व लिन पूर्वराजा ज्ञानेन्द्रलाई आग्रह गरे ।
कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो । पूर्वराजा शाह दुई हप्ता अघि भैरहवा आएका पूर्वराजा शाहले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाट गरिरहेका छन् । समारोहमा राप्रपासहित कांग्रेस, एमाले, माओवादी, जसपा, लोसपा लगायत सबै दल समर्थित स्थानीय नेता कार्यकर्ताहरु पनि पुगेका थिए । पूर्वराजाको नागरिक अभिनन्दन समारोहको संयोजक डा.रामप्रसाद बस्याल नेकपा एमालेका पूर्व नेता हुन् । यद्यपि संयोजक भए पछि उनलाई एमालेले कारबाही गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्