May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

सुरुङमार्ग निर्माणको काम गर्न आजदेखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द

बुटवल– सुरुङमार्ग निर्माणको काम गर्नका लागि आजदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा सडक बन्द हुनेछ । सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द हुन लागेको हो ।

Advertisement

सुरुङ मार्ग आयोजनाले सूचना जारी गर्दै बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । ‘पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक खुल्ला गरिनेछ’, सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा भनिएको छ ।

Advertisement

अन्य सवारीलाई रोक लगाइए पनि एम्बुलेन्स, दमकललगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइएको छैन । सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गर्दैछ । निर्माणका क्रममा यातायात सञ्चालन हुँदा माथिबाट ढुंगा खसेर जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको योजना कार्यालयले जनाएको छ ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक–दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुनेछ । सडक बन्द हुने समयमा साना सवारी साधनहरु बेलबास–नुवाकोट–दोभान वैकल्पिक मार्ग भएर आवतजावत गर्न सक्ने सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयमा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधनहरु तिनाउ गाउँपालिकाको जडिबुटीचोक र सत्यवती जाने बाटोमा र बुटवलबाट पाल्पा जाने सवारी साधनहरु बुटवलको चिडियाखोला र तल्लो सिद्धबाबामा रोकिनेछ ।