April 22, 2025, Tuesday
२०८२ बैशाख ९

अस्पताल बालमैत्री बनाउन लुम्बिनी प्रादेशिकमा बालउद्यान

बुटवल– अस्पतालमा उपचार गर्न आउने बालबालिकाहरूलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त बनाउन भन्दै रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरु अस्पताल भित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गर्न मानसिक रूपमा स्फूर्त तथा स्वास्थ्य उपचारबारे सकारात्मक सन्देश दिने, खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जनाए । ‘यसले बालबालिकालाई सकारात्मक सन्देश प्रवाह गर्नेछ, उपचार गरिँदा पनि आत्मबल बढाउने छ, अभिभावकलाई खुशी तुल्याउने छ’, उनले भने ।

Advertisement

अस्पतालको बाल रोग तथा प्रसूति विभाग कक्ष अगाडि बगैँचा निर्माण गरी उनीहरुलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरेको हो । अस्पतालका बाल रोग विशेषज्ञ नेत्र रानाका अनुसार पछिल्लो समय बालरोग उपचार तथा परामर्शका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको छ । बाल रोग उपचारलाई विशिष्टकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरु रहेको उनले बताए ।

बाल रोग विभागका प्रमुख डा। किरणमणी पौडेलले बालबालिकाहरु शुष्म मस्तिष्का कुनै पनि नकारात्मक प्रभाव र डर त्रास बिनानै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने बताए । अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष छन् । एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ । अस्पतालमा यसअघि नै प्रसूति तथा बालरोग उपचारका लागि छुट्टै नमुना संकलन केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।