दानवले बगाइरहेका पुरातात्विक सम्पदाको संरक्षणका लागि उत्खनन् सुरु


भैरहवा– रुपन्देहीको लुम्बिनी नजिक दानव नदीको कटानले बगिरहेको बुद्धकालीन सम्पदाको संरक्षणका लागि उत्खनन् थालिएको छ । बुद्वकालीन अनुमान गरिएका सम्पदा बचाउन ‘निपनिया क्षेत्र’को आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) कार्य सुरु भएको छ । पुरातत्व विभाग र लुम्बिनी विकास कोषको सहकार्यमा सोमबारदेखि उद्धार तथा उत्खनन् कार्य सुरु भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, स्थित निपनिया क्षेत्रमा विगतका वर्षहरूदेखि दानव नदीको कटानले जमिन मुनि रहेका विभिन्न किसिमका पुरातात्विक संरचनाहरू निस्किरहेका छन् । यस्ता संरचनामा रिङ ड्रेन, पत्थर, टोपाज, चुरा, ग्लासहरू, भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरीलगायतका सामग्री आदि रहेका छन्, जो बर्सेनि भारततर्फ बगेर गइरहेका छन् ।
पछिल्ला वर्षहरूमा संरक्षणमा चरम ढिलासुस्ती र लापरबाही देखिँदा एवं एउटाले अर्कोको मुख ताक्दा दानव नदीले त्यस स्थलमा फेला परेका करिब दर्जन रिङ ड्रेनका भग्नावशेष र महत्वपूर्ण पुरातात्विक सम्पदाहरू बगाइसकेको थियो । यसपालि भने विभाग र कोषको सहकार्यमा रिङ ड्रेनका भग्नावशेष र महत्वपूर्ण पुरातात्विक सम्पदाहरूको तत्काल रेस्क्युको कार्य अघि बढेको हो ।
विकास कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेतीको संयोजकत्वमा सुरु भएको उत्खनन् कार्यसमितिमा कोषका नवराज अधिकारी, अख्तर हुस्सैन मुसलमान, पुरातत्व विभागका अधिकृत हरि भुसाल, चन्द्र प्रकाश पाठक, शुभेच्छा पोख्रेल र निशा पन्थी लगायतको सहभागिता छ ।
‘फाट्टफुट्ट फाट्टफुट्ट रिङहरू आइरहेको छ । पोटरीहरू पनि निस्किरहेका छन् । भर्खरै कार्य सुरु गरेको हुँदा सबै प्राप्त वस्तुहरूको प्रोसेसीङकै चरणमा छौँ’, कोषका पुरातत्व शाखा प्रमुख उप्रेतीले भने, ‘हामीले मुख्यतः बर्सेनि दानव नदीमा आउने भेलले यी सम्पदालाई बगाइरहेको हुँदा संरक्षण अनिवार्य दायित्व भइसकेकोले कार्य थालनी गरेका हौँ । हाल देखिरहेको रिङ ड्रेनलाई सुरक्षित तवरले झिकेर संग्रालयमा राख्दैछौं । तत्पश्चात् अन्य सम्भावित संरक्षणका कार्यहरू र पुरातात्विक अन्वेषणलाई अघि बढाउनेछौँ ।’
२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढुङ्गाको रिङ भेटिएको, २०६९ सालमा इनार भेटिएका र त्यसलाई नदीको भेलले बगाएको स्थानीयवासी बताउँछन् । २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुङ्गाबाट चारपाटे आकृति भएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि यस क्षेत्रको संरक्षणको कुरा उठेको हो ।
भारतका प्रख्यात पुरातत्वविद् प्रोफेसर सन्तराम बालचन्द्र देव (एसबी देव) निपनियालाई ‘प्राचीन मानवबस्ती’ भनेका छन्, यद्यपि उनले यो कुरा अध्ययनको आधारमा नभई ‘कम्प्यारिटिभ डेटिङ’का आधरमा भनेका हुन् । उनले ती स्थानका पुरातात्विक सम्पदाले सातौँदेखि ११औँ शताब्दीको नदीमुखी मानवबस्ती र मानव सभ्यतालाई देखाएको बताएका थिए । उनले अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकालेका थिए । यद्यपि यस क्षेत्रको बारेमा आधिकारिक जानकारी भने प्राप्त नभएको हुँदा यस उत्खननलाई महत्वका साथ हेरिएको पाइन्छ ।
प्रतिकृया दिनुहोस्