April 22, 2025, Tuesday
२०८२ बैशाख ९

रोहिणीमा नगरका मुख्य क्षेत्र सीसी क्यामेराबाट निगरानी

भैरहवा – सूचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रूपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गर्दै आएको छ  । अपराध नियन्त्रणमा सीसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो ।

सेवाप्रदायक कार्यालयहरूमा सुशासन र पारदर्शीताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुरुस्त पार्न कार्यालयको निगरानीको लागि सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ  । कार्यालय वा सडकमा हुने गतिविधि निगरानी गर्ने उद्देश्यले पालिकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।

Advertisement

क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुरुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र सोबाट कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुरुस्त रूपमा गरेनगरेको निगरानी गर्न सजिलो भएको यादवले जनाए  । ‘सीसी क्यामेरा जडानपछि गाउँपालिकाको कामलाई चुस्तदुरुस्त बनाउन र पारदर्शी गर्न सहयोग पुगेको छ’, उनले भने ।

शैक्षिक गुणस्तरमा सुधार, विद्यालयमा भौतिक पूर्वाधार निर्माण, सडक निर्माण जस्ता कार्यलाई गाउँपालिकाले प्राथमिकता दिँदै आएको छ । जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष यादवले बताए  । धर्म संस्कृतिको संरक्षणमा ध्यान दिने भन्दै उनले गाउँपालिकाका प्रत्येक विद्यालयमा सीसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको सुनाए । रोहिणी गाउँपालिकामा अस्पताल र क्याम्पस नभएकाले समस्या परिरहेको भन्दै पालिकाले यसलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको यादवले जनाए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिकाको एक्लो प्रयासले मात्र विकास सम्भव नहुने भन्दै यसका लागि नागरिकलाई पनि सँगसँगै विकासमा डोर्याउने काममा पालिका अग्रसर रहेको बताए ।