भीमबाट कमिसनका लागि बिरामी रेफर गरे सह्य हुँदैनः नगर प्रमुख खाँन


भैरहवा– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खाँनले अस्पतालमै उपचार सम्भव हुँदाहुँदै बिरामी रेफर गरे सह्य नहुने जनाएका छन् । बिहीबार भैरहवास्थित भीम अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले कहिलेकाहीं उपचार सुविधा हुँदाहुँदै निजी अस्पतालमा बिरामी रेफर गर्ने गरिएको गुनासो आएको जनाउँदै यस्तो नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।
पछिल्लो समय भीममा उपचार सम्भव हुँदाहुँदै बिरामीलाई निजी अस्पतालमा रेफर गर्ने गरिएको भन्दै सामाजिक संजालमा ब्यापक आलोचना भएको थियो । यसबारे नगरपालिकाले सुक्ष्म तरिकाले नियाली रहेको नगर प्रमुख खाँनले बताए । ‘यहाँ (भीममा) उपचार सम्भव नभए बिरामीको ज्यान बचाउन पनि अन्यत्र रेफर गर्नुपर्छ, यो कुरा बिरामी र उनीहरुका आफन्तले पनि बुझ्नुपर्छ’, उनले भने, ‘तर, उपचार गर्ने उपकरण र जनशक्ति हुँदाहुँदै रेफर गरियो भने यो सह्य हुँदैन ।’
कार्यक्रम पछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नगर प्रमुख खाँनले जनगुनासो आएपछि नगरपालिकाले रेफर कस्ता बिरामीलाई र के–कति कारणले गरिएको हो ? भन्ने बारे बुझिरहेको जनाए । ‘कुनै न कुनै तरिकाबाट हामीलाई जानकारी आइरहन्छ र आउँछ पनि, त्यस्तोबेला नगरपालिकाले आवश्यक कदम चाल्छ’, उनले भने । उनले कमिसनका लागि रेफर गर्नु गलत भएको जनाए । गरिब तथा विपन्न समुदायले बढी भन्दा बढी उपचार गर्न आउने अस्पताल भएकाले सेवा छिटोछरितो र प्रभावकारी हुनुपर्नेमा नगरपालिका सधै सचेत रहेको उनले जनाए ।
अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्तकुमार शर्माले बाहिर आए जस्तो अस्पतालमा उपचार सम्भव हुँदाहुँदै रेफर नगरिएको जनाए । ‘अनावश्यक रेफर गरिएको भए यति धेरै बिरामीको चाप हुने थिएन’, उनले भने, ‘यदि कुनै डाक्टर वा स्वास्थ्यकर्मीले रेफर गरेको पाइयो भने कारबाही हुन्छ ।’ उनले गलत गर्नेलाई आफूहरुले नबचाउने र कारबाहीबो भागिदार हुने जनाए ।
प्रतिकृया दिनुहोस्