न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा भीम अस्पताल प्रदेशमा तेस्रो


भैरहवा– न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा भीम अस्पताल, भैरहवा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । ९० अंक प्राप्त गरेर अस्पताल मुलुकभरका जिल्ला र प्रादेशिक अस्पतालहरुमा टप १० भित्र पर्न सफल भएको हो । भीम अस्पताल ५० शय्याको भए पनि सय शय्यामा संचालित छ । नेपाल भरमा भक्तपुर अस्पतालले ९७ अंक ल्याएर मुलुकमै प्रथम भएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य मापदण्डमा बर्दिया अस्पताल प्रथम भएको छ । प्रदेशमा कपिलवस्तु अस्पताल दोस्रो भएको छ भने भीम तेस्रो भएको हो ।
भैरहवामा बिहीबार आयोजित न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन समीक्षा गोष्ठीमा भीम प्रदेशमा तेस्रो भएको जानकारी गराइएको हो । अघिल्लो वर्ष भीम अस्पतालले न्युनतम स्वास्थ्य मापदण्डामा ८८ नम्बर प्राप्त गरेको थियो । अहिले दुई अंक थप प्राप्त गरी ९० पाएको छ । यो अस्पतालको गुणस्तर सुधारमा उल्लेख्य प्रगती भएको दावी गरिएको छ ।
न्युनतम मापदण्ड सेवा मूल्यांकनका संयोजक समेत रहेका गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडेले भीमले अस्पतालले विशेषज्ञदेखि उपचार सेवा सुधार गर्दा प्रदेशमा तेस्रो र मुलुकभरमा आठौं नम्बरमा पर्न सफल भएको जनाए । ‘सेवालाई अझ चुस्त बनाएर आगामी दिनमा पहिलो बन्नुपर्छ । यसका लागि टिम बनाएर आमनागरिकको उपचार सेवामा लाग्नुहोला ।’
लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्यांक प्रमुख रामजनम कुर्मीले सबैको मिहनतले अस्पताल उत्कृष्ट ठहरिँदै गएको जनाए । ‘आउँदा वर्षमा पहिलो नम्बरमा पुग्ने गरी काम गर्नुहोला’, उनले भने, ‘हामीबाट गर्ने सबै किसिमका सहयोग हुन्छन् ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मेहम्मद नुरुल होदाले पछिल्ला दिनमा अस्पतालमा बिशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेपछि उपचार सेवा पनि प्रभावकारी हुँदै आएको जनाए ।
अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्तकुमार शर्माले सबैको प्रयासले यो सफलता हासिल गरिएको जनाए । ‘हामीले टीमवर्कमा विश्वास गर्छौं’, उनले भने, ‘अहिले प्रदान गरिरहेका सेवालाई अझै प्रभावकारी बनाइ थप गर्दै लैजानुपर्छ । यसका लागि हाम्रो टिमले निरन्तर काम गर्ने छ ।’ एजनाको प्रयासले अस्पताललाई सबैको भरोसायोग्य बनाउन नसकिने जनाउँदै उनले यसका लागि सबै विभागले उत्तिकै काम गर्नुपर्ने जनाए ।
उपचार सेवा राम्रो भएपछि पछिल्लो समय अस्पतालमा विरामीको चाप बढेको छ । औसतमा दैनिक तीन–चार सय बढी बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईले विगतमा खस्किरहेको अस्पताल अहिले उत्कृष्टतातर्फ अघि बढीरहेको जनाए । ‘पहिला धेरै गुनासाहरु आउँथे, यो भएन र त्यो भएन, सेवा राम्रो छैन भन्थे’, उनले भने, ‘अहिले यहाँ उपचारमा आउने विरामी उपचार पछि सन्तुष्ट छन्, यो राम्रो सन्देश हो । यसलाई बचाइ राखेर अझै राम्रो बनाउँदै लैजानुपर्छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खानले टिमवर्ककै कारण भीम अस्पताल सबै किसिमका विरामीको रोजाईमा पर्दै गएको जनाए । उनले अस्पतालले दिने सेवा अझै प्रभावकारी बन्नु पर्ने जनाउँदै त्यसका लागि नगरपालिकाबाट सबै किसिमको सहयोग हुने जनाए । आउने वर्षहरुमा मुलुकमै उत्कृष्ट हुने गरी काम गर्न उनले आग्रह गरे ।
प्रतिकृया दिनुहोस्