मन्त्रिपरिषद् विस्तारले लुम्बिनी कांग्रेसमा असन्तुष्टि


दाङ– मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आठ महिनापछि दुई मन्त्री थपेर सरकार विस्तार गरेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । मुख्यमन्त्री चौधरीले आइतबार कांग्रेस प्यूठानका प्रदेशसभा सदस्य सरोज थापा र माओवादीबाट निर्वाचित बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्री केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी छ । मन्त्री थापा विवादित व्यक्ति हुन् । उनीमाथि अनेकौं अरोप छन् । संस्थापनइतरलाई बाइपास गरेर विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै पार्टी भित्र र बाहिर चारैतिरबाट मुख्यमन्त्री चौधरीको आलोचना भइरहेको छ ।
लुम्बिनी सरकारले साबिकका ग्रामीण खानेपानी तथा सहरी विकास र उद्योग, पर्यटन तथा यातायात मन्त्रालय फोरेर मन्त्रीको संख्या थपेको हो । मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफैंसँग राखेका छन् । अन्य मन्त्रालय र मन्त्रीको जिम्मेवारी यथावत् राखिएको छ । वैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्री बनेका चौधरीले जेठमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । अहिले तेस्रो पटक विस्तार गर्दा पनि सरकारले पूर्णता भने पाएको छैन ।
लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । यसअघि कांग्रेसबाट दुई र माओवादी, जनमत, लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना मन्त्री छन् । मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको संस्थापन र इतरपक्षबीचको विवाद कायमै रहँदा मुख्यमन्त्री चौधरीले सरकार विस्तार गर्न सकेका थिएनन् । शुक्रबार पनि सरकार विस्तार गर्ने गृहकार्य भए पनि संस्थापन र इतरपक्षबीच विवाद चुलिँदा मुख्यमन्त्री चौधरी पछि हटेका थिए । उनले शनिबार कांग्रेस संस्थापन पक्षकै थापालाई मन्त्री बनाएका थिए ।
कांग्रेसबाट मुख्यमन्त्री चौधरी र स्वास्थ्य मन्त्री राजु खनाल संस्थापन पक्षका हुन् । संस्थापन इतर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रेम पाठकलाई मन्त्री बनाउन दबाब दिँदै आएको थियो । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको संस्थापन पक्ष स्रोतले बतायो ।
माओवादीले यसअघिको सहमति अनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम सिफारिस गरेको थियो । तर, कांग्रेसले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले अहिले केसीलाई पठाउने निर्णय गरेको हो । स्वतन्त्र उम्मेदवार भएर दीपेन्द्रले गठबन्धनका अमरसिंहलाई प्रदेशसभा निर्वाचनमा पराजित गरेका थिए ।
चुनाव जितेपछि दीपेन्द्र माओवादीमै फर्केका हुन् । मन्त्रिपरिषद् विस्तारप्रति कांग्रेसको संस्थापन इतरपक्ष आक्रोशित भएको छ । ‘मुख्यमन्त्रीज्यूले पार्टीभित्रको सन्तुलन मिलाउनु भएन,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘सल्लाह गरिएन, मुख्यमन्त्रीलाई लुम्बिनी पार्टीको मतलब भएन भने पार्टीलाई पनि सरकारको मतलब छैन । ठीकै छ सरकार चलाउनु होला ।’ सल्लाह नगरिकनै एकलौटी ढंगले मुख्यमन्त्री अघि बढेको उनको आरोप छ ।
प्रतिकृया दिनुहोस्