कपिलबस्तुमा मूर्ति कार्यशालाको तयारी


लुम्बिनी– बुद्धकालीन कपिलबस्तुको सगरहवामा आगामी पुस २३ गतेदेखि माघ ८ गतेसम्म कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालीन उक्त क्षेत्रमा लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलबस्तु नगरपालिकासहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तिकला कार्यशाला गर्ने तयारी गरिएको हो ।
कोषसहित प्रदेश सांसद, स्थानीयतहका जनप्रतिनिधि, कपिलबस्तु राष्ट्रिय मूर्ति कार्यशाला उपसमितिका संयोजकहरु सहितको बैठकले कार्यशालाको मितिसँगै तयारीका कामहरु गर्ने निर्णय गरेको छ । बैठकमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवै पूर्वमन्त्री विष्णु पन्थीले कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तिकार्यशालाले यसको प्रवद्र्धन गर्ने बताए ।
गौतमबुद्धले २९ बर्ष विताएको तिरौटाकोट दरवारसहित ७ वटा बुद्धका महत्वपूर्ण क्षेत्र भएर पनि ओझेलमा परेको बताउँदै अब कपिलबस्तुको विकास नरोकिने बताए । उनले सगरहवासहित कपिलबस्तु नगरपालिकामा रहेका बुद्धकालीन स्थलहरुको संरक्षणका लागि लुम्बिनी विकास कोषसँगै प्रदेश र स्थानीय सरकारबीच सहकार्य शुरु भएको समेत बताए । उनले सगरहवा प्राचीन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानसिहरुलाई थाहा हुने बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं मूर्ति कार्यशाला निर्देशक समितिका संयोजक सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले सगरहवा ऐतिहासिक र पुरातात्विक स्थल रहेको र यसको प्रवद्र्धनका लागि स्थानीयहरुको अपनत्व हुने गरि कार्यशाला गर्न खोजिएको बताए । गत वर्ष नै कार्यशालाको तयारीका कामहरु भइसकेको बताउँदै अब पुस २३ देखि माघ ८ गतेसम्म स्थानीय स्तरमा गठन गरिएको उपसमितिहरु लाग्न आग्रह गरे ।
बैठकमा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वडा न. ९ का वडाअध्यक्ष दीपक थापा लगायतले बोल्दै मूर्तिकार्यशाला सम्पन्न गर्नका लागि स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । बैठकमा विज्ञ समितिका संयोजक बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेल, गुणाखर गैरे, पत्रकार भेषराज पाण्डेयले सगरहवाको ऐतिहासिकता ढुंगामा कुद्ने कार्यले पर्यटक आर्कषित गर्ने बताए ।
बैठकले उपसमितिहरुको नामावली अनुमदोन गरी पुस १५ भित्र बैठक बसेर कार्ययोजना पेश गर्नुपर्ने र पुस २२ गते पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको लुम्बिनी विकास कोषका तिलौराकोट प्रमुख एंव कार्यशाला सचिवालय सचिव माधव प्रसाद आचार्यले जानकारी दिए । शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्वारा गरिएको उत्खनन् अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल लगायतका सामाग्री भेटिएको थियो ।
प्रतिकृया दिनुहोस्