लुम्बिनीमा केसी र थापा मन्त्री नियुक्त, आज सपथग्रहण


भैरहवा– सरकार गठन भएको ८ महिनापछि लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप्दै सरकार विस्तार गरेका हुन् । मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र काँग्रेसबाट प्यूठानका सरोज थापा (रोज राणा)लाई मन्त्री बनाएका छन् । केसीलाई शहरी विकास र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्री बनाइएको छ ।
दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन । मुख्यमन्त्री चौधरीले आफूसँग वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय राखेका छन् । दलहरुबीच सहमती नजुट्दा सरकारले अझै पूर्णता पाएको छैन ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा प्रदेश सरकार मन्त्रिपरिषदमा मन्त्रिको नियुक्ति र कार्यविभाजन गरिएको हो । लुम्बिनी प्रदेश सरकारले खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट खानेपानी झिकेर वन मन्त्रालयमा समायोजन गरेको छ भने छुट्टै शहरी विकास मन्त्रालय कायम गरेको छ । प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई फेरवदल गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा यसअघिको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयबाट पर्यटन झिकेर वन मन्त्रालयमा सारिएको छ । वन तथा वातावरण मन्त्रालयले अब खानेपानी र पर्यटनको क्षेत्र हेर्नेछ । नवनियुक्त मन्त्रीहरुको शपथ आज हुँदैछ । प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको तयारी सुरु गरेको सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
‘‘मुख्यमन्त्री कार्यालयको पत्र प्राप्त भएको छ । अब हामी शपथको तयारीमा जुटेका छौं,’ उनले भने, ‘आज दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम हुन्छ ।’ प्रदेश प्रमुखको कार्यालयले बुटवलमा शपथ ग्रहण कार्यक्रम राखेको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीकोले गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।
प्रतिकृया दिनुहोस्