‘दलप्रतिको नैराश्यता हटाउन सक्रिय भएको छु’


बर्दियाको मधुवन नगरपालिका–४, वेलवा बस्ने सुरेश पन्थ नेकपा माओवादी केन्द्रका नेता मात्र नभई एक सफल कृषक, उद्यमी र समाजसेवीबाट परिचित छन् । विश्व नै कोभिड–१९ संक्रमणले आक्रान्त भएकाबेला पन्थले गृह जिल्लामा फन्ट लाइनमा काम गर्ने प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई विपद व्यवस्थापनका लागि करिब ६० लाख मूल्यको स्वास्थ्य सामग्री वितरण गर्ने पहिला व्यक्ति थिए । उनले निजी खर्चमा ति सामग्री निःशुल्क वितरण गरेका हुन् । कोभिडका समय मात्र नभई समाजिक क्षेत्रमा तनमन र धनले उनी निरन्तर योगदान दिँदै आएका छन् । ०७१, ०७४ र ०७९ सालमा आएको ठुलो बाढीका समय दिनरात खटिएर राहत वितरणमा लागेका थिए । उनले जिल्लामा लामो समयदेखि गुणस्तरीय शिक्षामा लगानी गरेका छन् । कृषि क्षेत्रमा गरेको लगानी युवालाई रोजगारी सिर्जना र ओझेलमा परेका गाउँगाउँमा विकास निर्माणका लागि उनको ठुलो योगदान छ । काठमाडौं बस्ने गरेका पन्थ धेरै जसो समय बर्दिया बसेर विकास निर्माणमा खर्चिने गर्छन् । उनलाई जिल्लामा केही नयाँनयाँ योजना भित्राएर कार्यान्वयन गर्ने बानी परिसकेको छ । विपन्न वर्गमा पन्थलाई मसिहाका रुपमा हेर्ने गरेको स्थानीय बताउँछन् । गत प्रतिनिधि सभामा माओवादी केन्द्रबाट बर्दिया क्षेत्र नम्बर २ बाट संसदको उम्मेदवार भएका थिए । अन्तर्घातका कारण १ सय ३६ मतले नागरिक उन्मुक्ती पार्टीका नेता लालबहादुर चौधरीसँग पराजित भएका थिए । समाजसेवी एवं युवा उद्यमी सुरेश पन्थ गणतन्त्र दिवसको अवसरमा प्रवल जनसेवा श्री पदकबाट सम्मान पाउन सूचिकृत भएका छन् । उनीसँग पब्लिक कुरा डटकमले गरेको कुराकानीको सम्पादित अंशः
अहिले यहाँले के गर्दै हुनुहुन्छ ?
पार्टीको निर्देशन अनुसार ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ कार्यक्रम अन्तर्गत जनतासँग माओवादीको विशेष रुपान्तरण कार्यक्रममा खटिएको छु । घर–दैलोदेखि सभामा व्यस्त छु । आम नागरिकलाई पार्टीका वर्तमान र भोलिका दिनका योजनाहरु बुझाउने, माओवादीले अहिलेको रुपान्तरणमा गरेको योगदानबारे चर्चा गर्ने र जनमानसमा माओवादीको धारणा बुझ्ने काम भइरहेको छ ।
यहाँहरुले अभियान चलाइरहँदा पनि थाहा पाउनु भए होला, जनतामा राजनीतिक दलहरुप्रति किन नैराश्यता बढ्यो ?
मतदाताले आशा गरे अनुसार दलले त्यो प्रतिफल दिन सकेनन् । माओवादी केन्द्र त्यो नैराश्यता हटाउन चाहन्छ । अहिले त्यो काम माओवादीको काँधमा आएको छ । आगामी दिनमा हाम्रो पार्टीले जनतासँग गरेका वाचा कसरी पुरा गर्छ, त्यसमा केन्द्रित रही घरदैलोमा पुगेर आगामी निर्वाचनमा बहुमत ल्याएर वाचा पुरा गर्ने विश्वास जगाउँदै हिँडेका छौ । अर्को कुरा नेताहरुले बोलेअनुसार काम गरे जनतामा नैराश्यता आउँदैन । हाम्रो पार्टीले बोलेअनुसार, नीति र जनभावना अनुसार काम गरिरहेको छ । अब विस्तारै जनतामा देखिएको निराशा हट्दै जान्छ भन्ने मेरो विश्वास हो । म अहिले दलप्रतिको नैराश्यता हटाउन सक्रिय भएको छु ।
यहाँले यसो भनिरहँदा माओवादी केन्द्र भित्रै असन्तुष्टि छ नि ?
आन्तरिक पार्टीको सुदृढीकरण, लामो समयदेखि भेटघाट, अन्तरक्रिया नहुनु, घरघरमा माओवादी नेतृत्व नपुग्नु, जनताको समस्या विषयमा छलफल नहुँदा असन्तुष्टी देखिएको जस्तो लाग्छ । त्यसैले यसलाई सुदृढ गर्दै जनतासँग प्रत्यक्ष सहभागी भएर रुपान्तरणमा खटेका छौं । अहिलेको अभियानले जनतामा आशा र विश्वास पलाएको छ । यसलाई निरन्तरता कायमै राख्छौं । यसले पार्टीभित्रको असन्तुष्टि र आम जनमानसको असन्तुष्टि दुबै हटाउँछ । अब माओवादी सबै किसिमले जनभावनालाई कदर गर्दै अघि बढ्छ । विगतमा पनि बढेकै हो, अब अझ परिस्कृत गर्दै काम गर्छौं ।
तपाईं सामजिक क्षेत्रमा ठुलो योगदान मात्रै नभई आधुनिक कृषि व्यवसायी पनि हो । यसबाट तपाईंले कत्तीको रोजगारी सिर्जना गर्नुभएको छ ?
हो, मैले राजनीतिसँगै व्यवसायिक कृषि पनि गर्छु । मेरो ४१ विघा जमिनमा कागती, मत्स्यपालन, कम्पोष्ट मल उत्पादन, तरकारी खेती र पशुपालन व्यवसाय छ । कृषि प्राविधिक प्रयोग गरि कृषकहरुको जीवनस्तर उठाउँदै शिक्षामूलक अभियान चलाएको छु । साथै करिब २ सय जनालाई रोजगार दिएको छु । मैले कृषि प्रविधि, उत्पादन र रोजगारलाई विशेष प्राथकिता दिएको छु । कृषिलाई राज्यले प्राथमिकता दिनुपर्छ, बीउमल समयमै दिनुपर्छ भन्ने आवाज पनि उठाउँदै आएको छु ।
अब कृषिलाई कसरी अगाडि लैजाने योजनामा हुनुहुन्छ ?
शिक्षा र इच्छा दुबै एक साथ लैजाने र कृषिलाई आधुनिकरण गर्दै लैजाने योजना छ । हाल यहाँ उत्पादित तरकारी र कागती बर्दिया, बाँके र काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरेको छु । मेरो उद्देश्य भनेको राजनीतिसँगै कृषि व्यवसायलाई अघि बढाउने, किसानलाई कृषि शिक्षा प्रदान गर्ने र उत्पादनसँग जोड्ने हो । यस काममा म निरन्तर लागि रहन्छु ।








प्रतिकृया दिनुहोस्